लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले पठायो प्रदेशका निर्वाचन क्षेत्रमा मतपेटिका

निर्वाचनस्थलको समेत सरसफाइ
माघ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले पठायो प्रदेशका निर्वाचन क्षेत्रमा मतपेटिका

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आवश्यक पर्ने मतपेटिका सम्बन्धित निर्वाचनस्थलमा पठाउनुको साथै सरसफाइ गरिन थालिएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले मतदानका दिन आवश्यक पर्ने मतपेटिकाहरू मंगलबार दाङका तीनवटै निर्वाचन क्षेत्रमा पठाएको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । कार्यालयका अनुसार दाङको क्षेत्र नम्बर १ मा ५८५ क्षेत्र नम्बर दुईका लागि ६ सय र क्षेत्र नम्बर ३ का लागि ६ सय मतपेटिका पठाएको छ । 

निर्वाचन कार्यालयले नयाँ मतपेटिका नल्याइ यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकाहरूलाई नै पुन: प्रयोगमा ल्याउने भएको हो । निर्वाचन कार्यालयले अन्य निर्वाचन सामग्रीहरू पनि अबको केही दिनमा निर्वाचन क्षेत्रहरूमा पठाउने बताएको छ ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले पनि मतदानस्थलमा प्रयोग हुने मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाउन थालेको छ । निर्वाचन कार्यालयका कर्मचारीले यसअघि प्रयोग भएका मतपेटिकामा लगाइएका शील हटाउने, सरसफाइ गर्ने र त्यसलाई यसपटक प्रयोग गर्न योग्य बनाएका हुन् । 

पाल्पाका १ सय १८ मतदान स्थलका २ सय ५१ मतदान केन्द्रका लागि ५ सय बढी मतपेटिका तयारी अवस्थामा राखिएको निर्वाचन कार्यालयले जनाएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ लाख ७ हजार ४३६ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

उता फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले निर्वाचनमा खटिने निर्वाचन प्रहरीलाई नमूना मतदान तथा डेमो प्रर्दशन गरेको छ । नमूना मतदानमा मतदान प्रक्रिया, मत खसाल्ने विधि, मतदान केन्द्रको सुरक्षा व्यवस्थापन तथा निर्वाचन आचारसंहितासम्बन्धी जानकारी गराइएको थियो । 

यसखाले अभ्यासले निर्वाचनका बेला उत्पन्न हुन सक्ने जटिलता न्यूनीकरणका साथै सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारीबारे स्पष्टता दिन सहयोग पुग्ने विश्वास गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.