
काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरूले कानुन परिमार्जन गर्न सके प्रदेशहरूले पनि क्षमताअनुसार काम गर्न सक्ने बताएका छन् ।
कान्तिपुर कन्क्लेभको ‘संघीयता : संरचना मात्र कि संवाहक पनि’ सत्रमा मुख्यमन्त्रीहरूको यसका लागि संरचना र नीतिगत सुधार आवश्यक भएको बताए । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशलाई कम बजेट छुट्याउने गरिएको गुनासो गर्नुभयो । जेन–जी आन्दोलन र सरकार हेरफेरका कारण यस वर्ष कम विकास खर्च भएको उहाँले बताउनुभयो ।
जेन-जीको भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने मागलाई मधेश सरकारले आत्मसात गरेको भन्दै यादवले जनतालाई अनुभूति दिने वातावरण बनेको बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताले प्रदेश सरकारको कामका कारण विकासको अनुभूति गरेको दाबी गर्नुभयो ।
उहाँले प्रदेश सरकारसँग जनता खुसी रहेको दाबी गर्दै प्रदेश आवश्यक छैन र खर्चिलो भयो भन्ने जस्ता भाष्य सिर्जना गर्न खोजिएको बताउनुभयो । पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले सुधार गरेर गाउँको रूप फेरेको उहाँले बताउनुभयो । आफूहरूले कानुन बनाउने प्रयास गरे पनि संघीय कानुन नबन्दा समस्या भएको बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पशुपालनसहित किसान खुसी हुने गरेर काम गरेको बताउनुभयो । पशुपालन क्षेत्रसहित किसानको हकहितमा केन्द्रित भएर प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै उहाँले किसानलाई सन्तुष्ट बनाएको दाबी गर्नुभयो ।
बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन-जी आन्दोलन अकल्पनीय र अप्राकृतिक प्रकोप जस्तो भएको बताउनुभयो । उहाँले यो प्रणालीले कसैलाई बहुमत ल्याउन नदिने र दुई वा दुईभन्दा बढी दल नमिली सरकार नै नबन्ने अवस्था केन्द्र र प्रदेश दुवैतिर रहेको उल्लेख गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ सरकारले गरेका सकारात्मक काम समयमै सार्वजनिक भए जनतामा नकारात्मक प्रभाव कम हुने उहाँको भनाइ छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा भौतिक पूर्वाधारका काम भएकै कारण सबै जिल्लामा एकै दिनमा पुग्न सकिने बताउनुभयो । उहाँले आफुहरूले राम्रो काम गरेको दाबी गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयतासँग सम्बन्धित केही छिटपुट कुरा उठे पनि व्यवस्थाबारे खासै धेरै कुरा नउठेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको खर्च र अन्य विषयहरू बदनाम गर्न मात्र उठाइएको दाबी गर्नुभयो ।