अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारू हुनेमा विश्वस्त छु : भारतीय अधिकारी

माघ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारू हुनेमा विश्वस्त छु : भारतीय अधिकारी

काठमाडौं । भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भन्दै नेपालले निर्णय लिनेबित्तिकै यो पुनः सुचारू हुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बतानउनुभएको हो । उहाँले नेपाल-भारत सम्बन्धलाई शताब्दीयौंको निरन्तरताका रूपमा व्याख्या गर्दै गोरखा सैनिकबारे हाल देखिएका असमझदारीहरू छिट्टै हल हुने समेत बताउनु भयो । 

उहाँले दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभइ शताब्दीयौंको साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्दै आपसी सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो । उहाँले अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रष्ट पार्दै यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न आग्रह गर्नुभयो । 

उहाँले अग्निवीर योजनालाई ‘सेटब्याक’ नभइ युवाहरूका लागि अवसरका रूपमा व्याख्या गर्दै नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया सुचारू हुने र गोरखाहरू भारतीय सेनाको अभिन्न अंग बनिरहने दाबी पनि गर्नुभयो । नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि भारतसँगको कनेक्टिभिटीका कारण व्यावहारिक रूपमा एक ‘सामुन्द्रिक राष्ट्र’ नै भएको उहाँको भनाइ छ । 

उहाँले भारतको ९६ प्रतिशत तेल समुन्द्रबाट आउने र नेपालमा आउने इन्धन पनि त्यहीँबाटै आपूर्ति हुने हुँदा समुन्द्री सुरक्षाले नेपाललाई प्रत्यक्ष असर गर्ने उल्लेख पनि गर्नुभयो । ‘सागरमाला’ परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटीमा सुधार भएको र यसले नेपालको सामान ढुवानीको समय घटाएर व्यापारमा सहजीकरण गरेको उहाँको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.