
रामेछाप । रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधैं तामाकोसी नदीमा खसेको हो। दुर्घटना स्थलबाट अहिलेसम्म १२ वटा शव सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । सामान्य घाइते भएका चालकको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भैरहेको छ । सात जना घाइतेलाई सिन्धुली खुर्कोटस्थित शुभजीवन अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको छ । मृतकको पहिचान खुल्न बाँकी नै छ ।