
सिरहा । सोमबार जिल्ला सुरक्षा समितिले अनुगमनका क्रममा कारागारका नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएपछि कारागार भित्र कैदीबन्दीहरूले आगजनी र तोडफोड गर्दै सुरू गरेको प्रदर्शन अझै रोक्न सकिएको छैन ।
प्रदर्शन नियनत्रणमा लिन प्रशासनले कारागारमा बल प्रयोग गर्ने तयारी गरेको छ । बल प्रयोग गरी यसमा संलग्नहरूलाई नियन्त्रणमा लिने र कारागार सरूवा गर्ने तयारीमा रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । परिस्थिति नियन्त्रणमा लिने विषयमा निर्णय लिन अहिले जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
सोमबार अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रूपैयाँ, चुरोट, सुर्तीलगायत सामग्री भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा अनुसन्धान भइरहेको छ । तर, त्यससँगै नाइके यादव निकट कैदीहरूले कारागारभित्र आगजनी गर्दै प्रदर्शन थालेका थिए ।
सुरक्षाकर्मीले सोमबार कारागार बाहिरबाट पानीको फोहोरा हालेर आगो नियन्त्रणमा लिइएको थियो । उनीहरूले अप्रिय घटना घटाउने सक्ने भन्दै कारागार बाहिर हिजैदेखि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनै निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार :