
धनुषा । आसन्न प्रतनिधि सभा निर्वाचनके मिति नजिकिँदै जाँदा धनुषामा चुनावी सरगर्मी बढेको छ ।
प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म संगठन चलायमान बनाउँदै मतदाता फकाउने अभियानमा केन्द्रित छन् । धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव सिँचाइमा खपत हुँदै आएको बिजुली महशुल वडाले तिरिदिने भन्दै मतदाता प्रभावित पारिरहनुभएको छ ।
निर्वाचनको समय नजिकिँदै जाँदा अन्य उम्मेदवार रहे पनि मतदाता फकाउन गाउँ-गाउँ पस्न थालेका छन् । रेल, बिजुली, सडक, पुल, पोखरीमा घाट, मठ मन्दिर, मस्जिदलगायतका भौतिक पूर्वाधार निर्माणको काम आफ्नै सक्रियतामा गराएको भन्दै मतदाता रिझाउने होड उम्मेदवारहरूमा चलेको छ ।
निर्वाचनको बेलामा मिठा कुरा गरे पनि आफूहरू विवेक पुर्याएर मतदान गर्ने मतदाता बताउँछन् । संघीय व्यवस्था लागू भएपछि योजनाअनुसार सरकारी रकममा तीनै तहका सरकारले गरेको कामको जस लिने पुराना पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा चले पनि नागरिकको मुख्य आवश्यकता अहिलेसम्म पूरा हुन नसकेको विषयमा भने कसैले जिम्मेवारी लिँदैनन् ।
गुणस्तरीय शिक्षा, विपन्नहरूका लागि स्वास्थ्य उपचार सेवा र रोजगारीको स्थिति नाजुक छ । भौतिक पूर्वाधारलाई नै विकास बुझ्ने र मतदातालाई पनि बुझाउने प्रयास गरिरहेका पार्टी र तिनका उम्मेदवारले सिँचाइ, मलखाद र बजारको अभावमा मधेशको उर्वर खेतबारी बाँझो छाड्न बाध्य किसानको पीडा निदान अझै हुन सकेको छैन ।
नागरिकलाई आत्मनिर्भर बनाउने, आफ्नो क्षेत्रको विकास आफैं गर्न सक्ने र समृद्धि लागि दीर्घकालीन योजना अनुसारको काम गर्ने वातावरण कसले र कहिले बनाउने ?