
काठमाडौं । कान्तिपुर कन्क्लेभको तेस्रो सत्र "शक्तिको रस्साकसीमा नेपाल" मा चीन, भारत र अमेरिकाका विज्ञहरूले नेपालको भू-राजनीतिक अवस्थामाथि बहस गरेका छन् ।
सहभागीहरूले छिमेकी र विश्व शक्तिबीच सन्तुलन कसरी कायम गर्ने भन्नेमा धारणा राखेका छन् । अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्कले हङकङ, बंगलादेश वा नेपालमा भएका आन्दोलन अमेरिकाले सिर्जना नगरेको बताउनुभएको छ ।
विभिन्न देशमा भएका लोकतान्त्रिक आन्दोलन वा प्रदर्शनहरू अमेरिकाले सिर्जना नगरेको भएकाले अमेरिकाले ती आन्दोलनहरूको श्रेय लिन नचाहेको उहाँले बताउनुभयो । चीनको सिचुवान विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले चीन-नेपालका राजनीतिक शक्तिबीच पहिल्यैदेखि केही हदसम्म साझा सहमति बनेको र केही विषयमा जतिसुकै मतभेद भए पनि मूलभूत प्रश्नहरूमा समान चिन्ता र सम्मान देखिने बताउनुभयो ।

नेपालसँग भारतले आर्थिक अन्तरनिर्भरता र संस्थागत सहकार्यको नीति लिन लागेको भारतको साउथ एसिया सेन्टर, एमपी-आईडिएसएकी अनुसन्धानकर्ता स्नेहा कुम्चाले बताउनुभयो । उहाँले भारतले नेपालसँगको सम्बन्धलाई पछिल्लो समय परिवर्तन गर्दै गएको उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयको सिनासका कार्यकारी निर्देशक मृगेन्द्र कार्कीले नेपालको स्वतन्त्रता जोगाउन परराष्ट्र नीति बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेन-जी आन्दोलनले सबैलाई प्रश्न गरेको पनि बताउनुभयो । विदेश नीति निर्माण गर्दा आफ्नो स्थिति र राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने उहाँको सिनासका कार्यकारी निर्देशक कार्कीको धारणा छ ।
अरू देशबाट लगानी आउँदा राजनीतिक तथा आर्थिक सर्त हुने भएकाले राष्ट्रिय हित र आन्तरिक अखण्डताको सुरक्षाा सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ ।