सिरहा कारागारबाट बन्दुक र गोली बरामद, नाइकेसहित १३ जनालाई निकालियो

माघ २६, २०८२ |विनय आजाद
सिरहा कारागारबाट बन्दुक र गोली बरामद, नाइकेसहित १३ जनालाई निकालियो

सिरहा । सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । 

जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो । यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ।

उनीहरूलाई अन्य ठाउँको कारागार पठाउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयाे । 'हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौं,' उहाँले भन्नुभयाे, 'उनीहरूलाई अन्यत्र पठाउँछौं ।'

कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागूऔषधसम्मको कारोबार हुँदै आएको, फोन र चन्दाका नाममा असुली हुँदै आएकोलगायतका अवैध गतिविधिबारे कान्तिपुरले गत वर्ष प्रमाणसहित समाचार सम्प्रेषण गरेको थियो । कान्तिपुरको समाचारपछि नेपाल प्रहरीका डीएसपीको कमान्डमा गठित छानबिन समितिले ९० पेजको अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समिति समक्ष पेस गरेको थियो । 

तर, उक्त प्रतिवेदन कार्यान्वयन गर्न आनाकानी गर्दै आएको प्रशासनले आलोचना भएपछि सोमबार कारागारमा अपरेसन चलाएको हो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।