सुर्खेत । राष्ट्रिय राजनीतिमा बलियो पकड बनाएका कर्णाली प्रदेशका प्रभावशाली नेता पूर्णबहादुर खड्का, हृदयराम थानी र प्रकाश ज्वाला यसपटक निर्वाचन दौडबाट अलग्गिएका छन् ।
नेताहरू शक्ति बस्नेत, जनार्दन शर्मा, नरेश भण्डारी, महेन्द्र शाही, ज्ञानेन्द्र शाही प्रतिस्पर्धामै छन् । कर्णाली प्रदेशका दश जिल्लामा १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । यी सबै उत्तिकै महत्त्वको क्षेत्र भए पनि सुर्खेत, जुम्ला, कालिकोट, जाजरकोट र पश्चिम रूकुमलाई बढी चासोका साथ हेरिएको छ ।
यसपालिको निर्वाचनमा कर्णालीमा नयाँ र पुराना अनुहार मिश्रितरूपमा आएका छन् । पुराना उम्मेदवार र पहिल्यैदेखि जित्दै आएका दलहरूका घोषण पत्रमा पुरानै योजनाहरू राखिएको छ । तर नयाँ मानिएका दलले पनि पुरानै योजना राखेर मतदाता रिझाउन खोजिरहेका छन् ।
सबैका घोषणा पत्र र योजना सुन्दा आकर्षक लागे पनि कार्यान्वयन पक्ष कस्तो हुने भन्ने चासो स्थानीय मतदातले गरेका छन् । कर्णालीको निर्वाचनमा सुर्खेत १ केन्द्रबिन्दुजस्तै छ । यहाँ नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धी छन्- नेकपा (एमाले)का ध्रुवकुमार शाही । शाहीले पूर्णबहादुरलाई २०७४ मा पराजित गरेका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह पनि प्रतिस्पर्धामा छन् । कांग्रेसबाट रास्वपामा प्रवेश गरी सिंह चुनावी मैदानमा होमिएका हुन् ।
यस्तै सुर्खेत-२ मा कांग्रेसबाटै नारायण कोइराला, एमालेबाट कुलमणि देवकोट र रास्वपाबाट रमेश सापकोटा चुनावी मैदानमा छन् । कोइराला, देवकोटा र सापकोटा तीनैजना यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । २०७४ पछि कर्णाली प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, सडकजस्ता क्षेत्रमा नीति बनाएर बजेट खर्च गर्न पाएको छ भने राजनीतिक पहुँच पनि विगतभन्दा बढेको छ । तर राजनीतिक दलहरूले नयाँ पुस्तालाई परिवतर्न भएको बुझाउन नसकेको विश्लेषकको भनाइ छ ।