रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं लगियो

मतदान अधिकृतको उपचारका क्रममा मृत्यु
फाल्गुन १८, २०८२ |नवराज श्रेष्ठ
रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं लगियो

रामेछाप । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परि रामेछापमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। 

घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जानकारी दिनुभयाे। मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ। 

उहाँ रामेछाप नगरपालिका-२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत हुनुहुन्थ्याे । मृतक घिमिरे मन्थली नगरपालिका-७ स्थित रूद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको जनाइएको छ। सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो। 

दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो। रामेछाप नगरपालिका-२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उहाँसहित तीन जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन्।

दुर्घटनामा घाइते भएका दुई जना पुरूष र तीन जना महिलालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी दिनुभयाे।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।