सुरक्षाकर्मीको प्राथमिकतामा निर्वाचन, कस्तो छ नागरिकको जिउधनको सुरक्षा व्यवस्था ?

माघ २४, २०८२ |किरण पौडेल
सुरक्षाकर्मीको प्राथमिकतामा निर्वाचन, कस्तो छ नागरिकको जिउधनको सुरक्षा व्यवस्था ?
काठमाडौँ। निर्वाचनका लागि केवल २६ दिन बाँकी रहँदा देशभरका सुरक्षा निकायहरूको ध्यान निर्वाचन सुरक्षामा केन्द्रित छ । संवेदनशील मतदान केन्द्र, सम्भावित झडप हुने क्षेत्र र आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

तर यही बेला काठमाडौँसहित विभिन्न स्थानमा चोरी र लुटपाटका घटना भने बढेको देखिन्छ । सुरक्षाकर्मीको प्राथमिकतामा निर्वाचन पर्दा नागरिकको जिउधनको सुरक्षा व्यवस्था कस्तो छ त ?

गत माघ १५ गते जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राति लुटपाट गर्दै हिँड्ने संगठित गिरोहलाई नियन्त्रणमा लियो । उक्त गिरोहले सुनसान स्थान र रातको समयमा प्रायः एक्लै हिँड्ने व्यक्तिहरूको धनमाल लुट्ने गरेको थियो । हालसम्म उक्त गिरोहबाट लुटिएका २७ जना पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन् ।

यस्तै, माघ २२ गते लामो समयदेखि शृंखलाबद्ध चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूको साथबाट ७६४ ग्राम सुन, १ केजीभन्दा बढी चाँदी तथा विभिन्न देशका मुद्राहरू बरामद गरिएको परिसरले जनाएको छ ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ जिल्लामा कुल ९५१ चोरी तथा लुटपाटका घटना भएका थिए । तर पछिल्लो तीन महिना कात्तिक, मंसिर र पुसमा मात्र २६८ घटना भएका छन् ।

काठमाडौँ मात्र होइन, पर्सामा पनि घरमा कोही नभएको मौका छोपेर गरगहना चोरी हुने घटना बढेको देखिएको छ । एकातिर निर्वाचन, अर्कोतिर नियमित सुरक्षाको जिम्मेवारी । यस्तोमा नियमित आपराधिक गतिविधिको नियन्त्रणमा प्रहरी कसरी परिचालन हुन्छ ?

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले प्रहरीले जनशक्ति प्रभावशालीरूपमा परिचालन गरिरहेको बताउनुहुन्छ । “प्रहरीले जनशक्तिको प्रभावशाली परिचालन गरिरहेको छ । अन्य नियमित सुरक्षाको विषय पनि प्रहरीको प्राथमिकतामा छन् ।”

प्रहरी जनशक्ति निर्वाचनमा खटिँदा नियमित गस्ती, निगरानी र अपराध अनुसन्धानमा असर पर्नसक्ने सुरक्षाविद्हरूको आकलन छ। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल निर्वाचनको समयमा प्रहरीले नियमित पुलिसिङको रणनीति बनाएर अघि बढ्नुपर्ने बताउनुहुन्छ । “प्रहरीले अन्य सुरक्षालाई पनि प्राथमिकतामा राखेर रणनीति बनाउनुपर्छ । निर्वाचनसँगै अन्य नियमित सुरक्षाको विषयलाई ध्यानमा राखेर इलाकादेखि केन्द्रीय स्तरसम्म रणनीति बनाउनुपर्छ,” ढकाल भन्नुहुन्छ ।

प्रहरी प्रधान कार्यालयले भने निर्वाचन सुरक्षासँगै नियमित पुलिसिङलाई पनि प्राथमिकतामा राखेको बताएको छ । संवेदनशील क्षेत्रहरूमा अतिरिक्त गस्ती, सादा पोसाकका प्रहरी परिचालन र सूचना संकलन बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी निर्वचन सुरक्षामा केन्द्रित देखिँदा नागरिक आफैँ पनि थप सचेत हुन आवश्यक छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।