
काठमाडौं । मध्यपूर्वमा बढेको तनावका कारण आइतबार पनि त्रिभुवन विमानस्थलबाट तय गरिएका अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
उडान अवरूद्ध हुँदा १५ सय यात्रु प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । आइतबारका लागि कतार, संयुक्त अरब इमिरेट्सलगायतका क्षेत्रमा तय भएका उडान रद्द भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार जजिरा एयरवेज, एयर अरेबिया, एयर अरेबिया अबुधाबी, कतार एयरवेज तथा फ्लाई दुबईका १० वटा अन्तराष्ट्रिय उडान प्रभावित भएका छन् । शनिबार १८ वटा उडान प्रभावित भएका थिए । वायुसेवा प्रदायक कम्पनीहरूले अर्को सूचना जारी भएपछि मात्र विमानस्थल आउन आग्रह गरेका छन् ।
कतार एयरवेजले सामाजिक सञ्जालमार्फत कतारको हवाई क्षेत्र बन्द रहेसम्म उडान सञ्चालन सम्भव नरहेको जनाएको छ । आगामी अपडेट मार्च २ मा बिहान ९ बजे सार्वजनिक गर्ने कतार एयरवेजले जनाएको छ । हिमालय एयरलाइन्सले मध्यपूर्वी आकाशमार्गमा जारी परिस्थितिका कारण दुबई दमाम र दोहा गन्तव्यका सबै उडान अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जनाएको छ ।