
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेसँगै सरकारले ती मुलुकमा रहेका नेपालीको उद्धार र सहजीकरणका लागि र्यापिड एक्सन टिम गठनको प्रक्रिया अघि बढाएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा एक्सन टिम गठनको प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो । एक्सन टिममा श्रम तथा रोजगार एवं गृह मन्त्रालयका प्रतिनिधि पनि रहनेछन् । मन्त्रालयले मध्यपूर्वी मुलुकमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै उनीहरूको स्वदेश फिर्ता गराउने विषयलाई उच्च प्राथमिकता राखिएको जनाएको छ ।
परराष्ट्रले खाडी मुलुकमा रहेका झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपालीको उद्धार गर्ने प्रयोजनका लागि एपको विकास गरिएको र पर्सीसम्म वेबसाइटमा उपलब्ध हुने प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यस्तै, कन्सुलर सेवा विभागले २४ घन्टा हटलाइनकाे व्यवस्था गर्ने तयारी गरेको पनि मन्त्रालयले जनाएको छ ।
खाडीमा रहेका नेपालीहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन-आइओमलगायतका अन्तराष्ट्रिय संघ-संगठनसँग पनि कुराकानी भइरहेको परराष्ट्रको भनाइ छ । मध्यपूर्वका मुलुकहरू इरानमा ६ जना, इजरायलमा ६५ सय, इजिप्टमा ५ सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९ सय १३, कुवेतमा १ लाख ७५ हजार, जोर्डनमा ३ हजार, बहराइनमा २८ हजार र साउदी अरबमा ३ लाख ८४ हजार ८ सय ६५ छन् ।
यस्तै, यूएईमा ४ लाख ७८ हजार १ सय ४४, लेबनानमा १५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली कार्यरत छन् । यसैबीच नेपालले वार्ता र कूटनीतिका माध्यमबाट मतभेद समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा रहेका नेपालीहरुलाई अधिकतम संयम अपनाउन, तनाव बढाउनबाट जोगिन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
नेपालले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुरूप सबै मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक जानेक्रममा ट्रान्जिटमा रहेका नेपालीहरुको सुरक्षा भने सम्बन्धित एयरलाइन्सहरूले नै गर्ने जनाएको छ।