
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि आज सरोकारपक्षसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरपछि बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।