
धनकुटा । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा दल र स्वतन्त्रका गरी १८ जना प्रतिष्पर्धामा छन् ।
उम्मेदवारहरू दुईपटक मन्त्री भइसकेकादेखि राजनीतिका नवप्रवेशी युवा पनि छन् । धनकुटामा नेकपा (एमाले)बाट चौथोपटक उम्मेदवार बनेका राजेन्द्र राईका संविधान र कानुनलाई व्यवस्थित गर्ने, उद्यमका माध्यमबाट रोजगारी बढाउने र गरिबी घटाउने प्रतिबद्धता छन् ।
२०७४ र २०७९ को निर्वाचन जितेका राई आफूले थालेका काम पूरा गर्न चौथोपटक उम्मेदवारी दिएको बताउनुहुन्छ । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई पहिलोपटक उम्मेदवार बन्नुभएको छ । यहाँको कृषि सम्भावनालाई व्यवसायीकरण गर्ने, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा लागिपर्ने उहाँको योजना छ ।
धनकुटाबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गर्दै २ सय ४० वर्षसम्मको पूर्वको प्रशासनिक केन्द्रको धनकुटाको साख फर्काउने उहाँको प्रतिबद्धता छ । ग्रामीण विकासमा स्नातकोत्तर धर्मराज पौडेल नेकपाबाट उम्मेदवार बन्नुभएको छ । यहाँको भूगोल र आवश्यकताअनुसारको विकास योजना आफूसँग रहेको दाबी उहाँ गर्नुहुन्छ ।
राप्रपाले बिभत्सु थापालाई उम्मेदवार बनाएको छ । मुगा पुर्खौली घर भएका ३० वर्षीय थापा राजनीतिमा नयाँ हुनुहुन्छ । युवा पुस्ताको प्रतिनिधित्व गर्ने थापाको धनकुटाको खानेपानी र सिँचाइ समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता छ । रास्वपाले शिक्षा क्षेत्रमा कृयाशील दिनेश भण्डारीलाई उम्मेदवार बनाएको छ ।
राजनीतिमा नयाँ भण्डारी नेपालमै पढाइलेखाइ र गरिखाने वातावरण तयार गर्न आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई वैदेशिक रोजगारीको पीडादायी अवस्था हटाएर स्वरोजगार र स्व-उद्यममा लाग्ने वातावरण सिर्जना गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ ।
प्रतिनिधि सभा सदस्यको एउटा मात्रै सिट रहेको धनकुटामा पुराना मुख्य तीन दल, नयाँ र स्वतन्त्र गरी सबै १८ जना पुरूष उम्मेदवार छन् । प्रत्यक्षतर्फका १८ मध्ये १४ जनजाति र ४ जना खसआर्य हुन् । महिला, दलित, अपांगता भएकालाई कुनै पनि दलले उम्मेदवार बनाएका छैनन् ।