कर्णाली प्रदेश सभा : प्रशिक्षण केन्द्रको हलबाट चल्नेछ अबको अधिवेशन

माघ १७, २०८२ |कमल पन्त|देव राना
कर्णाली प्रदेश सभा : प्रशिक्षण केन्द्रको हलबाट चल्नेछ अबको अधिवेशन

सुर्खेत । जेन-जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि कर्णाली प्रदेश सभाको विधेयक अधिवेशन नयाँ ठाउँमा बस्ने भएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन चलाउने तयारी भएको हो । यो कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभाहल हो । आइतबारदेखि केही समयका लागि यही हलमा कर्णाली प्रदेश सभाको बैठक सञ्चालन हुने भएको छ । 

दायाँतिर सत्ता पक्ष र बायाँतिर प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरू बस्ने छन् । हलको अग्रभाग रोष्टमका रूपमा प्रयोग हुनेछ, रोस्टमकै दायाँतिर बसेर सभामुख नन्दा गुरुङ्गले बैठक सञ्चालन गर्नुहुने भएको छ । गत भदौ २४ गते प्रदेश सभाको भौतिक संरचना क्षति पुगेपछि वैकल्पिक रूपमा नयाँ स्थानमा प्रदेश सभा बैठक बस्न लागेको हो ।

अस्थायी प्रदेश सभा बैठकस्थलमा सभामुख उपसभामुखको विश्राम कक्ष र दलका कार्यकक्षहरू छैनन् । पर्याप्त कार्यकक्षहरू नभएका कारण कार्य व्यवस्था तथा परामर्श समितिको बैठक भने यसअघिकै प्रदेश सभा सचिवालमा बस्नेछ । बैठकको कार्यसूची तयार भएपछि मात्रै प्रदेशसभा सदस्यहरू अस्थायी बैठकस्थलमा आउने छन् ।

जेन-जी आन्दोलनका क्रममा पूर्णरूपमा ध्वस्त भएको बैठक कक्ष तत्काल बन्नसक्ने अवस्था छैन । सोही कारण प्रदेश सभाकै प्राङ्गगणमा अस्थायी बैठक कक्ष निर्माणाधीन छ । तर अस्थायी बैठक कक्षको पनि निर्माण नसकिएपछि नयाँ स्थानबाट बैठक सञ्चालन गर्ने बाध्यता आइलागेको हो । 

अस्थायी बैठक कक्ष निर्माण सम्पन्न नहुँदासम्म प्रशिक्षण केन्द्रको सभाहलबाट प्रदेश सभाले कानुनहरू निर्माण गर्नेछ । हाल प्रदेश सभामा विभिन्न तीन वटा विधेयकहरू विचाराधीन अवस्थामा छन् भने अधिवेशनलाई पर्याप्त विजनेस दिन सरकारले पनि केही विधेयकहरू संसद्‌मा पठाउने तयारी गरेको छ ।

नयाँ बैठकस्थल बजार नजिकै भएका कारण आउँजाउँ गर्न सहज छ । तर पर्याप्त पूर्वाधार नहुँदा सुरक्षाका हिसाबले चुनौतिपूर्ण देखिन्छ । अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएको छ । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रदेश संसद् भवनभित्रका फर्निचर, कम्प्युटर, सवारीसाधन र अन्य भौतिक संरचना गरेर कुल ३ करोड ९४ लाख रूपैयाँ बराबरको नोक्सानी भएको थियो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।