
धनकुटा । धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई आधारभूत तालीम दिन सुरू गरिएको छ।
तालीमको औपचारिक उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गर्दै गर्नुभएकाे हाे। माघ १८ गतेबाट औपचारिक रूपमा तालीम सुरू गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा–टाढा खटिनुपर्ने भएकाले शनिबारदेखि तालीम सुरू गरिएको धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयाे।
तल्लो टुँडिखेलमा आयोजित उद्घाटन कार्यक्रममा निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालीम अवधि, उनीहरूले पाउने सेवा-सुविधा तथा कारबाहीसम्बन्धी विषयमा जानकारी गराइएको थियो। छनोट भएका उम्मेदवारलाई जिल्ला प्रहरी कार्यालय धनकुटा, छिन्ताङ र राजारानी इलाका प्रहरी कार्यालय, पाख्रीवास, हिले, भेडेटारलगायतका स्थानमा १० दिनको आधारभूत तालीम दिइने जनाइएको छ।
पायक पर्ने स्थानमै तालीमको व्यवस्था गरिएको र माघ २५ गतेपछि उनीहरूलाई कार्यक्षेत्रमा परिचालन गरिने एसपी थापा क्षेत्रीले बताउनुभयाे। धनकुटामा जम्मा १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएका छन्। यी जनशक्ति नेपाल प्रहरीसँग समन्वय गरी अति संवेदनशील मतदान स्थलमा १० जना, संवेदनशीलमा ६ जना र सामान्य मतदान स्थलमा ५ जनाका दरले परिचालन गरिनेछ।
जिल्लामा कुल १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन्। तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य वर्गमा परेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयाे। यसैबीच, शनिबारबाट निर्वाचन सुरक्षा प्रहरीको बैंक खाता खोल्ने प्रक्रिया सुरू गरिने भएको छ।
पहिलेदेखि बैंक खाता भएका सुरक्षाकर्मीको खातामै तलब तथा सुविधा पठाइने र खाता नभएकालाई आफूलाई पायक पर्ने बैंकमा खाता खोल्न भनिएको एसपी थापाले बताउनुभयाे। धनकुटामा १ लाख १८ हजार ४ सय २४ मतदाता छन् ।