बुटवल । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रूपन्देही-२, मा रौनक बढेको छ ।
लगातार ४ पटक चुनाव जितेका एमाले उपाध्यक्ष विष्णु पौडेलसँग अरू ३३ जना उमेदवारहरू मैदानमा हुँदा त्यहाँ सबैको चासो छ । पश्चिम नेपालको प्रमुख आर्थिक र व्यापारिक केन्द्र हो, बुटवल । रूपन्देही-२ मा पर्ने बुटवल चुनाव आयो कि राजनीतिक चर्चामा पर्छ ।
जहाँ यसपालि २०५१ बाट संसदीय राजनीतिको यात्रा सुरू गरेका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित ३३ जना उमेदवार सांसद बन्ने चुनावी दौडमा छन् । २०५६ मा पराजय भोगेका पौडेलले त्यसयता ४ पटक चुनाव जित्नुभएको छ । २०७० सालमा तत्कालिन माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत दोब्बर मतले पाखा लगाउनुभयो ।
यसपालि त्यही भट्टराईका स्वकीय सचिव तथा २०६४ का प्रतिस्पर्धी तत्कालीन माओवादी नेता भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डे पौडेललाई पाखा लगाउने भन्दै चुनावी मैदानमा हुनुहुन्छ । विगतका तीन वटा निर्वाचनमा फराकिलो मतान्तरले जितेका एमाले उपाध्यक्ष विष्णु पौडेलले र २०७९ को निर्वाचनमा रास्वपाका गणेश पौडेलसाग जम्मा १ हजार ३६६ मतान्तरले जित्नुभएको थियो ।
पाँचौ जित निकाल्ने योजनासहित चुनावमा होमिएका एमाले उपाध्यक्ष पौडेलसँग अहिले कांग्रेसबाट व्यवसायिक पृष्ठभूमिका चुन्न प्रसाद पौडेल र रास्वपाबाट सुलभ खरेल मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । दुवैजना जित निकाल्ने दाउमा हुनुहुन्छ । रूपन्देही-२ मा अघिल्लो पटक उमेदवारी खारेजीमा परेका जनसेवा पार्टीका कमल भुसाल -निकोलस पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
यद्यपि पूर्व उपप्रधान एवं अर्थमन्त्री बनेका विष्णु प्रसाद पौडेल आफू जनप्रतिनिधि भएपछि ल्याएका विकास योजना, परिवर्तन र राजनीतिक अगाडि सारेर पौडेल आफूले जित निकाल्ने दाउमा हुनुहुन्छ । रूपन्देही-२ मा १ देखि १३ वडा, तिलोत्तमाका १ देखि ६ र सैनामैनाका १ देखि ४ सम्मका वडा पर्छन् ।
जहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । उमेदवारहरूले आफूले जित्ने दाबी गर्दै चुनावी मैदानमा होमिए पनि मतदाताले कसलाई जिताउने मन बनाउने हुन् ? हेर्न बाँकी छ ।