टाइगर कप भलिबल : महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड र पुलिस प्रतिस्पर्धा गर्ने

माघ १४, २०८२ |खेल ब्युरो
टाइगर कप भलिबल : महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड र पुलिस प्रतिस्पर्धा गर्ने

काठमाडौं । पोखरामा जारी छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधिका लागि न्यू डायमन्ड स्पोट्र्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् ।

वर्षाका कारण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सरेको लिग चरणको अन्तिम खेलमा न्यू डायमन्डले पाहुना टोली थाइल्यान्ड क्विन्सलाई ३-० ले पराजित गरेसँगै फाइनल समिकरण पूरा भएको हो । न्यू डायमन्डले जितसँगै पुलिसको फाइनल यात्रा पनि सुरक्षित भएको हो ।

लिग चरणमा एक सेट समेत नगुमाएको न्यू डायमन्ड अपराजित रहने एक्लो टोली समेत हो । एक महिनाको अन्तरालमा न्यू डायमन्ड र पुलिसको यो तेस्रो उपाधि भिडन्त हुने छ । केही साताअघि न्यू डायमन्डले एनभीए च्याम्पियनसिप र नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । दुवै प्रतियोगिताको फाइनलमा न्यू डायमन्डले पुलिसलाईनै पराजित गरेको थियो ।

रोमाञ्चक खेलको पहिलो सेट न्यू डायमन्डले २५-२१ आफ्नो पारेको थियो । दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-२० को जित हात पारेपछि न्यू डायमन्डले सहज जित सुरक्षित गर्यो । न्यू डायमन्डले चार खेलबाट १२ अंक जोड्यो। पुलिसले हिजै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

खेलको सुरूआतदेखि नै दबाबमा राखेको पुलिसले पहिलो सेट २५-१६ ले जित्यो । त्यसपछिका दुई सेटमा २५-१३ र २५-१९ को सहज जित हात पार्‍यो । जितसँगै पुलिसले चार खेलबाट ७ अंक जोडो । लिग चरणमा न्यू डायमन्डले पुलिसलाई ३-० को सोझो सेटमा हराएको थियो । थाइल्यान्ड क्विन्सले भने ६ अंक मात्र पुर्‍याउन सक्यो ।

अव तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्स र एपीएफ प्रतिस्पर्धा गर्ने छन् । त्रिभुवन आर्मी क्लब जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।