राष्ट्रिय लिग : चित्लाङमाथि मछिन्द्रकाे सहज जित

माघ १४, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : चित्लाङमाथि मछिन्द्रकाे सहज जित

काठमाडौं । राष्ट्रिय लिगमा मछिन्द्र फुटबल क्लबले चित्लाङमाथि ३-१ गोलको सहज जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा जोनाथन क्यान्टिलानाले उत्कृष्ट प्रर्दशन गरे । सुरुवातबाट नै खेलमा नियन्त्रण राखेको मछिन्द्रले ३०औं मिनेटमा प्रदिप बुढाथोकीको गोलमार्फत अग्रता लियो । जोनाथनको प्रहार गोलरक्षक चन्द्रसुन्दर श्रेष्ठले बचाए । 

रिबाउन्डमा फेरि जोनाथनले गोलको प्रयास गरे । सो बललाई प्रदिपले फिनिस गरेका हुन् । ३७औं मिनेटमा चित्लाङका सोलोमोन इलेसानमीले बराबरी गोल गर्ने मौका गुमाए । उनको लङ रेन्जर प्रहार पोस्टमा लाग्दै बाहिरियो । पहिलो हाफमा प्रवेश कटुवालको टिमले नियन्त्रण राखे पनि गोल भने निकाल्न सकेन ।

ब्रेकपछि पनि चित्लाङले कमजोर प्रदर्शन गर्यो । ६५औं मिनेटमा सौरभ लिम्बुको पासमा जोनाथनले गोल गर्दै अग्रता दोब्बर बनाए । ७०औं मिनेटमा जोनाथनकै क्रसमा आलिजोन आलिजोनोभले हेडर गोल गर्दै मछिन्द्रको दुरी ३-० मा पुर्याए । लगत्तै, बिज्ञान खड्काले गोल गर्दै चित्लाङलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यतिबेला सम्म निकै ढिलो भइसकेको थियो । 

मछिन्द्र जारी लिगमा अपराजित छ । चित्लाङको यो लगातार दोस्रो हार हो । आजै भएको पहिलो खेलमा एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई २-१ गोलले हरायो ।