
काठमाडौं । नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा धेरै प्रतिभा पाएको छ ।
तर तीमध्ये केही नाम यस्ता छन् जसले छोटो समयमै आफ्नो अलग पहिचान बनाउन सफल भएका छन् । गुल्सन झा त्यही सूचीको सबैभन्दा चम्किलो नाममध्ये एक हुन् । किशोर उमेरमै राष्ट्रिय टिमको जिम्मेवारी बोकेका गुल्सन आज नेपाली क्रिकेटका सबैभन्दा ऊर्जावान र आकर्षक खेलाडीका रूपमा स्थापित भइसकेका छन् । कान्तिपुर समाचारको नो योर राइनोमा आज हामी गुल्सनको क्रिकेट करिअरको चर्चा गर्ने छौं ।
सर्लाहीको मलंगवाबाट उठेको एउटा सपना अहिले अन्तर्राष्ट्रिय रंगशालासम्म पुगेको छ । २००६ को फेब्रुअरी १७ मा जन्मिएका गुल्सन अहिले नेपाली क्रिकेटका अभिन्न सदस्य बनेका छन् । सानै उमेरमा ब्याट र बल समातेका उनले आफूलाई पूर्ण रूपमा क्रिकेटमै समर्पण गरे । यही समर्पणले उनलाई आज यो स्थानसम्म ल्याएको छ ।
उनको क्रिकेट यात्राको जग भारतमा बस्यो । चार वर्षसम्म भारतको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा उनले प्रशिक्षण लिए । त्यही क्रममा उनले फास्ट बलिङका आधारभूत सिपहरू स्लोअर, कटर र बाउन्सर निखार्ने अवसर पाए । रणजी ट्रफी खेलेका अनुभवी प्रशिक्षकबाट ब्याटिङ सिक्नु उनका लागि ठूलो उपलब्धी बन्यो । यही कारण गुल्सनको खेलमा सन्तुलन देखिन्छ । ब्याटिङमा आक्रामकता र बलिङमा विविधता उनको विषेशता हो ।
तर उनको बाटो सधैं सहज भने रहेन । २०७७ मा प्रधानमन्त्री कपको छनोट खेल्न भारतबाट नेपाल फर्किदा मधेश प्रदेशको टिममा परे पनि खेल्ने अवसर पाएनन् । त्यो क्षण गुल्सन निरस त भए तर आत्तिएनन् । अवसर नपाए पनि उनको प्रतिभाको चर्चा भने चलिरहेको थियो ।
यही चर्चाले उनी नेपाल पुलिस क्लबको प्रशिक्षण सत्रमा सहभागी हुने अवसर पाए । उनको क्षमता पहिचान गर्न प्रशिक्षक मनोज कटुवाललाई धेरै बेर लागेन । २०७७ को काठमाडौं मेयर्स कप उनका लागि निर्णायक बन्यो । पुलिसका लागि फाइनल खेल खेल्ने क्रममा उनले एपीएफको ब्याटिङ लाइनअफलाई धरासायी बनाए ।
फाइनलमा ४ विकेट हात पार्दै म्यान अफ दी म्याच भए । एपीएफका कप्तान शरद भेषावकरसहित शीर्ष क्रमलाई तहसनहस पारेका गुल्सनलाई कप्तान शरदले 'सरप्राइज प्याकेज' को उपमा दिए । गुल्सनले त्यो अवसरलाई जीवनकै टर्निङ प्वाइन्ट बनाए । पुलिसबाट घरेलु प्रतियोगितामा पाएको ब्रेक थ्रुले उनलाई सिधैं राष्ट्रिय क्रिकेटको ढोकासम्म पुर्यायो ।
राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरको नजर उनीमाथि पर्यो । जम्मा दुई घरेलु खेल खेलेपछि नै उनी राष्ट्रिय टिममा बोलाइए । सन् २०२१ सेप्टेम्बर १७ मा अमेरिकाविरूद्ध वान-डे डेब्यु गर्दा गुल्सनको उमेर मात्र १५ वर्ष २ सय १२ दिन थियो । यससागै उनी विश्व क्रिकेटमै सबैभन्दा कम उमेरमा ओडीआई क्याप जित्ने तेस्रो कान्छा खेलाडी बने ।
अहिले पनि उनी यो सूचीको तेस्रो स्थानमै यथावत् छन् । २०२२ फेब्रअरीमा फिलिपिन्सविरूद्ध गुल्सनले टी-२० आईमा डेब्यू गरे । हालसम्म ४० ओडीआईमा गुल्सनले ४ अर्धशतकसहित ७ सय २६ रन बनाएका छन् । साथै उनको नाममा ३४ एकदिवसीय अन्तर्राष्ट्रिय विकेटसमेत छ । ओडीआईको एकै खेलमा अर्धशतक प्रहार गर्ने र ५ विकेट लिने विश्वकै कान्छा खेलाडीमध्ये गुल्सन पनि एक हुन् ।
कुनै समय अन्डर-१९ र सिनियर टिम दुवैबाट नियमित खेल्ने गुल्सनले हालसम्म ५१ टी-२० आईमा ६ सय २९ रन र २९ विकेट आफ्नो नाममा गरिसकेका छन् । सुरुमा मिडियम फास्ट बलरका रूपमा चिनिएका गुल्सन पछिल्लो समय अलराउन्डरको रुपमा परिचित छन् । बायाँ हाते ब्याटर र दायाँ हाते फास्ट बलरको दुर्लभ संयोजन उनको सबैभन्दा ठूलो विशेषता हो ।
प्रशिक्षक मोन्टी देसाईले उनलाई भरपर्दा फिनिसरका रुपमा निखारेका हुन् । गुल्सन नेपाली क्रिकेटका विग म्याच प्लेअरसमेत हुन् । अघिल्लो आईसीसी विश्वकप लिग-टुमा यूएईविरुद्ध घरेलु मैदानमा नेपालले हासिल गरेको ऐतिहासिक जितमा गुल्सन नायक बने ।
उनको अविजित ५० रनले नेपाललाई पहिलो पटक ओडीआई विश्वकपको ग्लोबल छनोटसम्म पुर्याएको थियो । एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध अविजित ६७ रन बनाउँदै नेपालाई एसिया कपसम्म पुर्याए । ओडीआई विश्वकप छनोट, टी-२० विश्वकप छनोटसहित अन्य थुप्रै महत्वपूर्ण प्रतियोगिता र खेलमा गुल्सनले निर्णायक योगदान दिएका छन् ।
कठिन क्षणमा निर्णायक क्यामियो खेल्नु उनको पहिचान जस्तै बनेको छ । नेपाल तेस्रो पटक आईसीसी टी-२० विश्वकप खेल्न लाग्दा गुल्सनको यो दोस्रो विश्वकप यात्रा पनि हो । २०२४ टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा गुल्सन स्ट्राइकमा थिए ।
त्यतिखेर उनको आलोचना पनि भएको थियो । तर यस पटक उनी अनुभव र आत्मविश्वास दुवै लिएर मैदान उत्रने तयारीमा छन् ।