
रूपन्देही । चरा, पर्यापर्यटनको संरक्षण र प्रचारप्रसार गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन संरक्षणकर्मीले हातेमालो गरी सहकार्य गर्ने प्रतिबद्धता गर्दै तेस्रो नेपाल बर्ड फेयर सकिएको छ ।
लुम्बिनीमा सम्पन्न दुई दिने बर्ड फेयरमा सहभागीहरूले सिमसार क्षेत्र संकुचन, बासस्थान विनाश र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न अभियान चलाउने संकल्प गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिकतासँगै चरा र पर्या-पर्यटनका आकर्षण उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चराले सामना गर्नुपरेको जोखिम र विगतमा चरा संरक्षण गर्न गरिएको प्रतिबद्धता तथा चरा आवागमन गर्ने सेन्ट्रल एसियन फ्लाई वे मार्गका पानी चरा र सिमसार संरक्षणमा छलफल गरियो ।
त्यस्तै नेपालका विशेष संरक्षण क्षेत्रमा स्थानीयले गरेका संरक्षण प्रयास, बढदो मानवीय चहलपहलका बीच सारस संरक्षण, एसियामा गिद्ध संरक्षण र अनुसन्धान तथा नेपालमा पाइने चीर प्रजातिका चरा र यसको संरक्षण प्रयासबारे छलफल गरियो । पोखरा बर्ड सोसाईटीद्वारा विभिन्न संरक्षणसाग सम्बन्धित संघ/संस्थाको सहयोगमा आयोजित तेस्रो बर्ड फेयर समापनमा आगामी वर्ष चौथो नेपाल बर्ड फेयर बर्दियाको ठाकुरद्वारामा गर्ने घोषणा गर्यो ।
यसका लागि बर्दिया नेचर कन्जरभेसन क्लब बीएनसीसीले स्थानीयस्तरमा समन्वय गर्न जिम्मेवारी लिएको छ । त्यस्तै १६औं एसियन बर्ड फेयर, २०२७ मा नेपालमा आयोजना गर्ने घोषणा पनि गरिएको छ । कार्यक्रममा भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ, स्पेन र ताइवानलगायतका मुलुकबाट १५ जना चरा विज्ञ, विशेषज्ञ, संरक्षणमा क्रियाशील संघ/संस्था र टुर अपरेटर लिडर सहभागी थिए ।
त्यस्तै मुलुकभरका दुई सयबढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर, अनुसन्धानकर्मी र संरक्षणकर्मी सहभागी थिए । बर्ड फेयरअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय सभाहलमा विभिन्न कार्यक्रम भई रहँदा स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रूचि राख्नेलाई लुम्बिनीस्थित थाई भिजिटर सेन्टरमा चराका विभिन्न स्टल राखिएको थियो ।
त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस -चरा चिन्ने प्रतियोगिता गरिएको थियो । चरा, सारस र बिरालो प्रजातिको संरक्षणका लागि नाटक र सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो । अनुसन्धानकर्ता र संरक्षणसाग सम्बन्धित संघ/संस्थाबीच ज्ञान सूचना आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरासँगै पर्यापर्यटनको प्रवर्द्धन गर्न बर्ड फेयर प्रभावकारी बन्यो ।
यसले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि उत्कृष्टस्थल भएको सन्देश प्रवाह भएको छ ।