
सर्लाही । नेपाली कांग्रेसको गढ रहेको सर्लाहीको क्षेत्र नम्बर ४ मा पार्टीलाई विरासत फर्काउने चिन्ता छ ।
गत निर्वाचनमा स्वतन्त्र सांसद जितेपछि यस पटक पार्टीलाई विरासत फर्काउन चिन्ता परेको हो । विरासत फर्काउन कांग्रेसका सभापति गगन कुमार थापा आफैं चुनावमा होमिनुभएकाे छ । थापा सर्लाही क्षेत्र नम्बर ४ आएपछि उक्त क्षेत्र राष्ट्रिय चर्चाको केन्द्र बनेको छ ।
यस क्षेत्रमा कांग्रेसका तर्फबाट थापा तथा कांग्रेसबाट दुई पटक र कांग्रेसले नपत्याएर गत निर्वाचनमा स्वतन्त्रबाट गरी तीन पटक विजयी भई हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोयन दर्ता गराउनुभएकाे अमरेश कुमार सिंहबीच कडा प्रतिस्पर्धा छ । २०४८ को चुनावदेखि नै कांग्रेसको गढ मानिएको यस क्षेत्रमा गत चुनावमा कांग्रेसका बागी बन्नुभएका अमरेशकुमार सिंह तथा २०६४ को संविधान सभाबाहेक निर्वाचन परिणाम कांग्रेसको पक्षमा छ ।
०४८ सालको चुनावमा कांग्रेसका तर्फबाट नेता महन्थ ठाकुर निर्वाचित हुनुभयाे । त्यसपछिको मध्यावधि चुनावमा पनि उहाँले नै बाजी मारेर कांग्रेसको सिट सुरक्षित पार्नुभयाे । ०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा उहाँ कांग्रेस परित्याग गरेर मधेशवादी दल तराई-मधेश लोकतान्त्रिक पार्टी स्थापना गरी चुनावमा होमिनुभयाे ।
कांग्रेसको तर्फबाट भने अमरेश सिंह उम्मेदवार बन्नुभयाे । त्यतिबेला मधेशी जन अधिकार फोरमका तर्फबाट उम्मेदवार बन्नुभएका शिवपुजन रायले ठाकुर र सिंहलाई पराजित गर्नुभयाे । पहिलो संविधान सभामा ‘ब्रेक’ भएको कांग्रेसको सिट पुनः ०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा अमरेश सिंहले फर्काउनुभयाे ।
उहाँले ठाकुर र रायलाई हराउँदै जित निकाल्न सफल हुनुभयाे । ०७४ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका शिवपुजन रातो पासपोर्ट बिक्री प्रकरणमा मुछिएपछि उहाँ चुनाव लड्न अयोग्य हुनुभयाे । चिरपरिचित उम्मेदवार रायको उम्मेदवारी खारेज भएपछि ०७४ को चुनाव अमरेशले सहजै जित निकाल्नुभयाे ।
२०७९ को चुनावमा कांग्रेसले सिंहलाई नपत्याएपछि उहाँ बागी बन्नुभयाे र कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७ सय ६४ मतअन्तरले पराजित गर्नुभयाे । २०७९ को चुनावमा कांग्रेसमा चरम गुटबन्दी थियो । त्यसको फाइदा सिंहले उठाउनुभयाे ।
लगातार तीन पटक जित निकाल्दै हौसिएका सिंह चौथो पटकका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा होमिनुभएकाे छ । उहाँले जनता आफ्नो साथमा रहेको दाबी गर्दै आफ्नो जित निश्चित रहेको दाबी गरिरहनुभएकाे छ । ‘यस क्षेत्रका जनता मेरो साथमा छ, यस पटक जनताले राष्ट्रिय राजनीति पनि परिवर्तन गर्छन्,’ उहाँले भन्नुभयाे, ‘लगातार तीन पटक जितेको छु, यस पटक पनि मलाई जनताले पत्याउने छ ।’
यता कांग्रेसको गढमा बलियो संगठन नै पार्टीकालागि चुनाव जित्ने आधार छ । कांग्रेसका उम्मेदवार थापाले मधेशको मुद्दा, मधेशको समस्या बुझेर त्यसको समाधानकालागि यहाँबाट उम्मेदवारी दिएको बताउनुभयाे । कांग्रेस बदलियो, मूलुक पनि बदल्ने थापाको दाबी छ ।
‘म मधेशको बेटा बन्न आएको हुँ, मधेशमा प्रवेश गरेदेखि नै साथीहरूको साथ तथा ठाउँ–ठाउँमा नागरिकको स्वागतले अत्यन्त उत्साहित भएको छु,’ उहाँले भन्नुभयाे, ‘हरेक सुख दुःखमा यहाँका नागरिकसँग साथ रहँदै मधेशको मुद्दा र समस्या बुझेर समाधान गर्ने प्रयास मेरो हुनेछ ।’
उहाँले यहाँको नागरिकहरूको हरेक काममा मद्दत पुर्याउने बाचा गर्दै आउँदो निर्वाचनमा एकजना मतदाताले पनि गगन थापालाई मतदान गरेकोमा शिर निहुराउनु नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । कांग्रेसको गढ रहेको यस क्षेत्रमा अझ पार्टीलाई बलियो र जनताको हीत हुने काम गर्न आम कार्यकर्तालाई आग्रह गर्नुभयाे ।
यस क्षेत्रमा थापा र सिंहसँगै एमालेबाट अमनीश यादव, जनमतबाट राकेश मिश्र, जसपाबाट रामेश्वर राय, नेकपाबाट रजनीश राय चुनावी मैदानमा छन् । बरहथवा, गोडैता, बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका ५१ वटा वडा यस क्षेत्रमा पर्छ । कुल १ लाख २१ हजार १२ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ८१ मतदान स्थल तथा १ सय ५४ मतदान केन्द्र छन् ।