पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा र हिमपात

उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमाली जिल्लाको हवाइसेवा अवरुद्ध, काठमाडौं उपत्यकामा पनि पानी पर्ने
माघ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा र हिमपात

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने केही स्थानमा पानी परेको छ। पश्चिमी बायुको प्रभावले नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी क्षेत्रमा हिमपात पनि भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको हो । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९ दशमलब ६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टायता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ । महाशाखाका अनुसार मधेश र पूर्वी तराईका झापा लगायतका जिल्ला बाहेक प्राय सबैतिर हल्का वर्षा हुने सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएरातिदेखि भएको वर्षा यो वर्षको दोस्रो हिउँदे वर्षा हो । यसअघि माघ ९ गते बेलुकादेखि १० गते बिहानसम्म हल्का वर्षा भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.