
काठमाडौं । सवारी लाइसेन्समा अनियमितताबारे छानबिन गरिरहेको अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेसलकुमार पोखरेलसहित २७ जनाको मोबाइल जफत गरेको छ ।
अख्तियारले ४९ थान मोबाइलसहितका विद्युतीय उपकरण जफत गरेको हो । दिउँसो १२ बजे यातायात व्यवस्था कार्यालय चाबहिल पुगेको अख्तियारको टोलीले पोखरेलसहित कार्यालयका कर्मचारीहरू विवेक कुँवर, सन्तोष रेग्मी, सुरज रोकाय, विजय प्याकुरेल लगायतको मोबाइल जफत गरेको हो ।
रेग्मी स्थायी कर्मचारी हुन भने अन्य तीन जना करारका आईटी कर्मचारी हुन् । अख्तियारले तीन ट्राफिक प्रहरी र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका म्यानेजर बालकृष्ण सिंहसहित सात जनाको पनि मोबाइल जफत गरेको छ । रमेश भूजेल नाम गरेका एक परीक्षार्थीले गत पुस १६ गते सवारी चालक अनुमति पत्र प्राप्तिका लागि लिखित परीक्षा दिएका थिए ।
एकपटक लिखितमा अनुत्तिर्ण भएपछि तीन महिना कुर्नुपर्ने प्रावधान भए पनि भूजेल एक महिना नपुग्दै लिखित दिन चाबहिल पुगेका थिए । यसपटक रमेश भूजेल नै उमेश भूजेलको नाममा परीक्षा दिन पुगेका थिए । भूजेलले जोरपाटी दक्षिणढोका परीक्षा केन्द्रमा लिखित दिँदै गर्दा अख्तियारबाट पुगेको एक टोलीले भूजेल र खटिएका प्रहरी तथा कर्मचारीको मोबाइल जफत गरेर ल्याएको हो ।
अख्तियारले भूजेलले कहाँबाट कसरी आफ्नो नाम परिवर्तन गराए र उक्त काममा कति रकमको चलखेल भयो भन्नेबारे पनि अनुसन्धान गरिने जनाएको छ । यसरी नामसहितका अन्य विवरण परिवर्तन गर्ने अख्तियारी प्रदेश मातहतका कार्यालय प्रमुख र प्रमुखले सिफारिस गरेका आईटी प्रमुखलगायतका कर्मचारीसँग मात्रै हुन्छ ।