
भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता पालना गर्न भक्तपुरको सबै राजनीतिक दल तथा सरोकार वाला निकायले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आयोजना गरेको निर्वाचन आचारसंहित सम्बन्धी अन्तक्रियामा स्वच्छ, निष्पक्ष तथा भयरहित तरिकाले शान्तिपुर्ण रूपमा फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका हुन् ।
मुख्य निर्वाचन अधिकृत नवराज दाहालले निर्वाचन आयोगले सबै राजनीतिक दलहरूसँग छलफलपछि मात्रै निर्वाचन आचारसंहिता तयार गरेको बताउँदै मुख्य गरी राजनीतिक दलहरूले यसको पालनामा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । निर्वाचनमा सहभागी हुने सम्पुर्ण सरोकारवाला निकायलाई पनि आचारसंहिताको धाराले बाँधेको उहाँको भनाइ थियो ।
अन्तक्रियामा प्रमुख जिल्ला अधिकारीले निर्वाचनको मिति नजिकिएकाले लाइसेन्स प्राप्त हात हतियारहरू समयमै नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना गराउने विषयमा जिल्ला प्रशासन कार्यालय कडाइका साथ प्रस्तुत हुने समेत बताउनुभयो ।
कार्यक्रममा सहभागी उम्मेदवारहरूले निर्वाचन आचारसंहिता सबै उम्मेदवार र राजनीतिक दलहरूलाई सम्मान रूपमा लागू गराउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहितासम्बन्धी अन्तक्रियामा राजनीतिक दलहरू, उम्मेदवार, सरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुख तथा भक्तपुर उद्योग वाणिज्य संघ र गैर सरकारी संस्था भक्तपुरका प्रमुखहरू आ-आफनो धारणा राखेका थिए ।