
धनकुटा । धनकुटामा दोस्रो पटक म्याद थप गरेपछि मात्रै निर्वाचन सुरक्षा प्रहरीका लागि आवश्यक उम्मेदवारको आवेदन परेको छ ।
धनकुटाका लागि तोकिएको निर्वाचन सुरक्षा प्रहरीको संख्या अपुग भएपछि दुईपटक सम्म आवेदनका लागि म्याद थपिएको थियो । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ जना गरी जम्मा १ हजार ८५ जनाको कोटा छ । दोस्रो पटकमा भने माग भन्दा बढी आवेदन परेको र छनाेटको काम सकेर नतिजा प्रकाशनको तयारी भइरहेको धनकुटाका प्रहरी उपरिक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
छनाेट भएका निर्वाचन सुरक्षा प्रहरीलाई माघ १५ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा आधारभूत तालिम दिइने र कार्यक्षेत्रमा परिचालन गरिने थापाको भनाइ छ । धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । मतदानका लागि १ सय १९ मतदानस्थल र १ सय ६६ मतदान केन्द्र तोकिएको छ ।
जसमध्ये १६ मतदान स्थल अति संवेदनशिलको सूचीमा छन् । यस्तै ४९ संवेदनशील र ५४ मतदान स्थललाई सामान्य भनिएको छ । संवेदनशील मतदान केन्द्रमा न्यूनतम ३ जना प्रहरी र १० जना निर्वाचन सुरक्षा प्रहरी रहन्छन् । मतदानस्थलको अवस्था, मतदाता संख्या हेरेर प्रहरी थप गर्ने व्यवस्था रहेको एसपी थापा क्षेत्रीको भनाइ छ ।
संवेदनशीलमा न्यूनतम ३ प्रहरी र ६ जना निर्वाचन सुरक्षा प्रहरी र समान्यमा ३ जना प्रहरीसँगै ५ जना निर्वाचन सुरक्षा प्रहरी रहन्छन् ।