
हुम्ला । आसन्न निर्वाचन सुरक्षाका लागि खटाइएका निर्वाचन प्रहरीले सेवा-सुविधा न्यून भएको गुनासो गर्दै हुम्लामा आन्दोलन सुरू गरेका छन्।
उनीहरूले जिल्ला प्रशासन कार्यालय हुम्लाको मूल गेटअगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। आफ्ना सेवा-सुविधा कटौती गरिएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। निर्वाचन प्रहरीले जोखिमपूर्ण क्षेत्रमा काम गर्दा समेत तोकिएको भत्ता, आवास र खानाको उचित व्यवस्था नभएको तथा आएको रकमसमेत कटौती गरिएको दाबी गरेका छन्।
उनीहरूका अनुसार दुर्गम भौगोलिक अवस्था, कडा चिसो र यातायातको अभावका कारण ड्युटी निर्वाह गर्न निकै कठिन भइरहेको छ। सरकारले उपलब्ध गराउने भनिएको पोशाक, न्यानो कपडा, दैनिक भत्ता र बसोबास व्यवस्थामा समेत कमजोरी रहेको उनीहरूको आरोप छ।
हामी निर्वाचन सुरक्षामा चौबीसै घन्टा खटिएका छौँ, तर न्यूनतम सुविधा नहुँदा काम गर्नै गाह्रो भएको छ, आन्दोलनमा सहभागी एक निर्वाचन प्रहरीले बताए। आन्दोलनरत निर्वाचन प्रहरीले सम्बन्धित निकायसमक्ष सेवा-सुविधा सुधार गर्न माग गरेका छन्। माग पूरा नभए थप कडा आन्दोलनका गर्ने चेतावनी पनि दिएका छन्।
यता जिल्ला प्रशासन कार्यालय हुम्लाले भने समस्याबारे जानकारी आएको र आवश्यक समन्वय भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार निर्वाचन प्रहरी कार्यविधि-२०८२ अनुसार पाउने सेवा-सुविधा सम्बन्धित व्यक्तिको बैंक खातामै जाने व्यवस्था रहेको छ।
पोशाक र तालिम अवधिमा १० दिनको तालिमका क्रममा गरिएको खाना-नास्ता खर्चसम्बन्धी विषयलाई लिएर गलत बुझाइका कारण विवाद उत्पन्न भएको उहाँले बताउनुभयाे। उहाँले सुरक्षाकर्मीको मनोबल उच्च राख्न आवश्यक पहल भइरहेको पनि जानकारी दिनुभयाे।
स्थानीयवासीले निर्वाचनजस्तो संवेदनशील समयमा सुरक्षामा खटिएका म्यादी प्रहरी असन्तुष्ट हुँदा सुरक्षा व्यवस्थामै असर पर्न सक्ने भन्दै समस्या शीघ्र समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।