महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

फाल्गुन ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । 

साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले नै गरेको थियो । कोषले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहीअनुसार दक्षिणा दिँदै आएको छ । 

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सयासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्माले साधुसन्तहरूको मुखियाले भनेअनुसार बाबाहरूको वर्गीकरण गरेर दक्षिणा दिइएको बताउनु भयो ।

उहाँका अनुसार महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको छ । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाइ गरेको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.