
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले त्यसतर्फ सञ्चार माध्यमहरूलाई सचेत गराउनुभएको हो ।
मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने उम्मेदवारहरूलाई हतोत्साही बनाइ प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने भएकाले निर्वाचनअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।
उहाँले प्रविधिको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनु भयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो