सब-इन्जिनियर हत्या प्रकरण : पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरूद्वारा ‘पेन डाउन’

फाल्गुन ५, २०८२ |विकास आर्या
सब-इन्जिनियर हत्या प्रकरण : पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरूद्वारा ‘पेन डाउन’

महोत्तरी । पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरूले मंगलबार एक दिने ‘पेन डाउन’ गरेका छन् ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-ईन्जिनियर सिरहा सुखिपुर नगरपालिका–९ घर भएका प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनाको विरोधमा एक दिने ‘पेन डाउन’ गरिएको पूर्वाधार विकास कार्यालय महोत्तरीका प्रमुख कात्र्तिकेश झाले बताएको छ ।

पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरू कार्यालय परिसरमै हात र टाउकोमा कालोपट्टि बाँधेर बसेपछि कार्यालयको कामकाज ठप्प हुन पुगेको छ । फागुन ३ गते पूर्वाधार विकास कार्यालय सलार्हीमा सब-इन्जिनियर पदमा कार्यरत्त यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी कठघेरामा ल्याइ कानुन बमोजिमकको हदैसम्मको सजायको माग गर्दै एकदिने ‘पेन डाउन’ गरिएको कार्यालय प्रमुख झाले बताउनुभयाे । पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरूले यसअघि जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा सब-इन्जिनियर यादवको हत्याको घटना जघन्य, अमानविय र निकृष्ट रहेको उल्लेख छ । यस्ता घटना दोहरिन नदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराइएको कार्यालय प्रमुख झाले बताउनु भयो ।

विगतमा समेत विभिन्न समयमा विकास निर्माण र पूर्वाधार क्षेत्रका कर्मचारीहरूमाथि भएको दुर्व्यवहारका घटनाहरू बारम्बार हुँदै आए पनि दोषीहरूमाथि कठोर कानुनी कारबाही नभएकै कारण यस प्रकारको जघन्य अपराध हुन गएको पूर्वाधारका कर्मचारीहरूको ठहर रहेको छ ।

विकास तथा पूर्वाधार क्षेत्रमा काम काज गर्ने कर्मचारीहरूकौ भौतिक तथा व्यक्तिगत सुरक्षाको पूर्ण सुनिश्चितताको समेत प्रधानमन्त्रीसमक्ष माग गरिएको हो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।