सब-इन्जिनियरकाे हत्याको विरोधमा कर्मचारीहरूद्वारा ‘पेन डाउन’, सेवा प्रभावित

फाल्गुन ५, २०८२ |ओमप्रकाश ठाकुर
सब-इन्जिनियरकाे हत्याको विरोधमा कर्मचारीहरूद्वारा ‘पेन डाउन’, सेवा प्रभावित

सर्लाही । पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालयका कर्मचारीहरूले मंगलबार ‘पेन डाउन’ गरेका छन् ।

दोषीमाथि कारबाही र कर्मचारी सुरक्षाको माग गर्दै उनीहरूले सेवा प्रभावित बनाएका हुन् । कर्मचारीहरूको विभिन्न संगठनको आह्वानमा जिल्लाभरका कार्यलयमा ‘पेन डाउन’ गरेर कामकाज प्रभावित बनाइएको हो । उनीहरूले घटनाका दोषीको पहिचान गरी तुरून्त पक्राउ गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने तथा कर्मचारीहरूको पूर्ण सुरक्षा व्यवस्था सुनिश्चितताको माग राखेका छन् ।

निजामती कर्मचारी युनियनका अध्यक्ष युगल किशोर साहले घटनालाई गम्भीर रूपमा नलिए अगामी दिनमा थप आन्दोलनको कार्यक्रम घोषणा हुने चेतावनी दिनुभयाे । उहाँकाअनुसार निर्वाचनको मुखमा यस किसिमको घटनाले जिल्लाभरका कर्मचारीहरूमा त्रासको अवस्था सिर्जना भएको छ । 

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जनाउँदै दोषी निकट प्रहरी पुगेको जानकारी दिनुभयाे । गत शनिबार साँझ पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर यादवको मलंगवा-१० स्थित डेराबाट बाहिर बोलाइ अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।