उदयपुर । दुई प्रतिनिधि सभा सदस्यका लागि उदयपुरमा ३१ जना उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १८ जना र क्षेत्र नम्बर २ मा एक स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा छन् । उदयपुरको क्षेत्र नं. १ मा नेकपा एमालेको दुर्गाकुमार थापा, कांग्रेसको विदुर बस्नेत र नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी पुरानादल मध्येको मुख्य प्रतिष्पर्धी देखिएका छन् ।
क्षेत्र नं. २ मा एमालेको अमर रायमाझी, कांग्रेसका रामकुमार राई र नेपाली कम्युनिष्ट पार्टीको सुरेशकुमार राई हिमाल प्रतिष्पर्धी देखिएका छन् । उनीहरू आ-आफ्नै जितको दाबीमा छन् । उनीहरूलाई नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपा चुनौती हो । रास्वपाको क्षेत्र नं. १ मा पारसमणी गेलाल र क्षेत्र नं. २ मा सुर्य लामा उम्मेदवार छन् । श्रम संस्कृति पार्टीको पनि प्रभाव देखिन्छ ।
माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरू कार्यकर्ता भेटघाटसँगै चुनावी रणनीति र परिचालन संयन्त्र बनाउनेमा छन् । चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेका छन् । चुनावी एजेन्डा सार्वजनिक र चुनावी मैदानमा दलबल देखाउने तयारीमा छन् ।
निर्वाचन क्षेत्र १ मा देवराज रोका र क्षेत्र नं. २ मा मेजरकुमार राई स्वतन्त्र उम्मेदवार छन् । उनीहरूले दलहरू भन्दा फरक शैलीमा मतदातालाई भेटेर भोट माग्न थालेका छन् ।