
पाेखरा । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट खुल्ला र महिला गरी दुवै क्लष्टरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
आइतबार प्रदेश निर्वाचन कार्यालय पोखरा कार्यालयमा सम्पन्न निर्वाचनबाट खुला क्लष्टरमा कांग्रेसका प्राडा जगत तिमिल्सिना र महिलामा एमालेकी गोरखाकी सम्झना देवकोटा विजयी हुनुभएकाे हाे । अन्य कलष्टरमा विजयी कांग्रेसका प्राडा जगत तिमिल्सिनाले ५ हजार ३३ मतभारसहित विजयी हुनुभयाे। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका कपिल लामाले ९ सय ४१ मतभार प्राप्त गर्नुभयाे । त्यसैगरी अन्य समूहमा उम्मेदवार बन्नुभएका जनमोर्चाका शंकर बरालले ७६ मतभार पाउनुभयाे ।
त्यस्तै, महिला समूह क्लष्टरमा विजयी एमालेकी सम्झना देवकोटाले ५ हजार १४ मतभारसहित निर्वाचित हुनुभयाे भने उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरेले ९ सय ४१ मतभार प्राप्त गर्नुभयाे । महिला समूहमा उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटाले ७६ मतभार प्राप्त गर्नुभयाे ।
निर्वाचनमा स्थानीय तहतर्फ १ सय ६६ र प्रदेश सभा तर्फ ५७ मत खसेको थियो। स्थानीय तहमा कुल १ सय ६९ मध्ये १ सय ६६ जनाले मतदान गरे भने प्रदेश सभामा ५९ मध्ये ५७ मत खस्यो। राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकीका दुई प्रदेश सांसद पञ्चराम गुरुङ र विन्दु पौडेल मतदानमा अनुपस्थित हुनुहुन्थ्याे ।
त्यसैगरी मनाङको नार्पाभुमी गाँउपालिका प्रमुख कोन्जो तेन्जिङ लामा र वालिङ नगरपालिका उपप्रमुख कविता गैरे अनुपस्थित हुनुहुन्थ्याे। लामा बिरामी भएका र गैह्रे हाल देशबाहिर रहेको जनाइएको छ । दुवैजना कांग्रेसका हुन् । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेश सभाको ५३ तोकिएको थियो।
अन्य खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुने भए पछि निर्वाचन भएको हो । निर्वाचनमा प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ तोकेको थियो ।