भक्तपुर बालसुधार गृह झडप : सबै बालबिज्याइँकर्तालाई अन्यत्र सारियाे

माघ ९, २०८२ |सुन्दर शिल्पकार
भक्तपुर बालसुधार गृह झडप : सबै बालबिज्याइँकर्तालाई अन्यत्र सारियाे

भक्तपुर । भक्तपुरको सानोथिमीस्थित बालसुधार गृहमा गएराति बालबिज्याइँकर्ताहरूको दुई समूहबीच झडप भएपछि शुक्रबार सबैलाई अन्यत्र सारिएको छ।

झडपका क्रममा बालबिज्याँकर्ताहरूले सुधारगृहमा तोडफोड र आगजनी गरेपछि बस्न सक्ने अवस्था नरहेकाले सबैलाई अन्यन्त्र सारिएको हो । उनीहरूलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी कार्यालयमा रहेका हिरासतका बाल निगरानी कक्षमा सारिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

गएरातिदेखि भएको झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते थिए । नेपाल कोरियामैत्री अस्पतालमा उपचारपछि सात जना डिस्चार्ज भएका छन् । गएराति पौने १० बजेदेखि बालसुधार गृहभित्र भएको झडपमा केही प्रहरीसमेत घाइते भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

१ सय ६९ जना बालबिज्याइँकर्ता रहेको सुधार गृहमा १८ वर्षभन्दा माथिका करिब ७५ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई समूहबीच झडप भएको थियो । बालबिज्याइँकर्ताले एकापसमा कुटाकुट गरेर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । 

गएराति नै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाट ढुंगामुढा गरेको प्रहरीले जनाएको छ । यसैबीच मानव अधिकार आयोगले बालसुधार गृहको अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।