
संखुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि संखुवासभामा चुनावी सरगर्मी बढ्दै गएको छ ।
यसपटकको निर्वाचनमा १६ वटा राजनीतिक दलका उम्मेदवार तथा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवार र दलका कार्यकर्ता घरदैलो अभियानमा सक्रिय छन् । यसपटक प्रमुख दलदेखि स्वतन्त्र उम्मेदवारसम्म सबै नयाँ अनुहार चुनावी मैदानमा देखिएकाले नतिजा रोचक बन्ने देखिन्छ ।
संखुवासभामा फागुन २१ मा हुने निर्वाचनमा अघिल्लो पटक उम्मेदवारी दिएका कुनै पनि अनुहार दोहोरिएका छैनन् । यसले मतदातामा नयाँ अपेक्षा र चासो थपेको छ । नयाँ उम्मेदवारहरू परिवर्तन र विकासका नयाँ सम्भावना बोकेर मैदानमा उत्रिएको दाबी गरिरहेका छन् ।
अधिकांश उम्मेदवारहरूले पर्यटन विकास, पूर्वाधार निर्माण र सुशासनलाई मुख्य नाराका रूपमा अघि सारेका छन् । ठूला दलदेखि साना दलसम्मका उम्मेदवारको चुनावी प्रतिबद्धता लगभग उस्तै देखिन्छ । संखुवासभाको प्राकृतिक सौन्दर्य, जलविद्युत् सम्भावना, धार्मिक तथा सांस्कृतिक पर्यटनलाई उपयोग गर्दै जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने विषय सबै उम्मेदवारको साझा एजेन्डा बनेको छ ।
सुशासन, पारदर्शीता र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्ने विषय पनि चुनावी बहसको केन्द्रमा छ । मतदाताहरू पनि योपटक नयाँ अनुहारलाई कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा छलफलमा जुटिरहेका छन् । धेरै उम्मेदवार र उस्तै एजेन्डाबीच कसले मतदाताको विश्वास जित्ने हो भन्ने प्रश्न अहिले संखुवासभामा चासोको विषय बनेको छ । संखुवासभामा १ लाख १९ हजार ६ सय ३० मतदाता छन् ।