आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरी कारबाही गर्छ : आयोग

माघ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैं अनुसन्धान गरी कारबाही गर्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैंले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगले आफ्ना संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा आवश्यक अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनु भयो । उहाँले आयागमा आएको उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने जानकारी दिनुभयो । 

निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला सबैको सहमतिमा जारी गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको छ । 

उहाँले निर्वाचन आचारसंहिता राजनितिक दल, उम्मेदवार र मतदाता सबैले पालना गर्नुपर्ने बताउनु भयो । उहाँले उम्मेदवारी मनोनयनका क्रममा मंगलवार केही आचारसंहिताका विपरितका कार्य भएको उल्लेख गर्नुहुँदै ती कार्य आयोगको नोटिसमा रहेको बताउनु भयो । उहाँले आचारसंहिता कार्यन्वयनका लागि आयोगले संयन्त्र बनाइसकेको पनि जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.