काठमाडौं । तपाईँ बस्ने घर, तपाईँले काम गर्ने कार्यालय र तपाईँ सेवा लिन जाने सरकारी कार्यालय भूकम्प प्रतिरोधी छन् कि छैनन् ?
२०७२ को भूकम्पमा भत्किएका धेरै संरचना पूनर्निर्माण भइरहँदा भूकम्पप्रतिरोधी बनेका छन्। तर कतिपय संरचना भने अझै पनि भूकम्पीय जोखिमबाट मुक्त छैनन्। जस्तै देशभरका धेरै विद्यालय अझै पनि भूकम्प प्रतिरोधी बन्न सकेका छैनन्। सानासाना बालबालिका अध्ययन विद्यालयमध्ये करिब ५० प्रतिशत मात्र भूकम्प प्रतिरोधी रहेका छन्। कतिपय स्वास्थ्य संस्था र सरकारी कार्यालय पनि असुरक्षित छन्।
काठमाडौंको दरबार हाई स्कुल भुकम्प प्रतिरोधात्मक रूपमा पुनर्निर्माण भएसँगै विद्यार्थीको चाप निकै बढेको छ। २०७२ सालको भूकम्प आउनुअघिसम्म मुस्किलले ७२ जना विद्यार्थी रहेको यो विद्यालय चिन सरकारको सहयोगमा पुनर्निर्माण भएको हो। मुलुककै पुरानो विद्यालय भवन सुविधासम्पन्न सँगै भूकम्प प्रतिरोधी भएपछि अहिले ११ सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।
१० वर्षअघिको विनाशकारी भूकम्पले ३१ जिल्लाका ९ हजार विद्यालय क्षतिग्रस्त भएका थिए। अहिलेसम्म ७ हजार ६ सय ६५ वटाको पुनर्निर्माण भएको छ, ती सबै भूकम्प प्रतिरोधी भएको सरकारको दाबी छ। बाँकी १३ सय ३५ वटा भने पुनर्निर्माण भएका छैनन्। त्यसो त मुलुकभर रहेका २७ हजार सामुदायिक विद्यालयमध्ये ५० प्रतिशत विद्यालयहरू भूकम्प प्रतिरोधी छैनन्। कलिला बालबालिका कमसल भवनमै बसेर लेखपढ गर्न बाध्य छन् ।
भूकम्प प्रतिरोधी भवनकै कारण पनि धेरै सामुदायिक विद्यालयमा विद्यार्थी र तिनका अभिभावक आकर्षित भएको विद्यालयहरुको अनुभव छ। विद्यालय मात्र होइन २०७२ सालको भूकम्पले क्षतिग्रस्त दर्जनौं क्याम्पस, स्वास्थ्य संस्था, सरकारी भवन पनि अझै पुननिर्माण हुन सकेका छैनन्।
कमजोर संरचनाकै कारण जनधनको क्षति हुने भएकाले भूकम्पबाट बच्न र बचाउन भूकम्प प्रतिरोधी बलिया संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ भने सरकारले भूकम्प प्ररोधी भवन निर्माण आचारसंहिता कडाइका साथ कार्यान्वयनसँगै यसबारे जनतामा सचेतना जगाउन पनि अति आवश्यक छ ।