कांग्रेसमा एकताको आह्वान, देउवा पक्षद्वारा अस्वीकार तथा कानुनी प्रतिवाद

माघ ३, २०८२ |विकास आचार्य
कांग्रेसमा एकताको आह्वान, देउवा पक्षद्वारा अस्वीकार तथा कानुनी प्रतिवाद

काठमाडौं । निर्वाचन आयोगले वैधानिकता दिएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहलाई समेट्दै पार्टी एक बनाएर अघि बढ्ने प्रयास थालेका छन् । 

शनिबारको केन्द्रीय समिति बैठकले औपचारिक रूपमै देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गर्ने निर्णय गर्यो । तर देउवा समूह भने निर्वाचन आयोगको निर्णयलाई कानुनी चुनौती दिने गरी अगाडि बढेको छ । निर्वाचन आयोगले वैधानिकता दिएसँगै नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पार्टी एक रहेको सन्देश दिन खोजिरहेका छन् । 

सभापति थापा र उपसभापति शर्मासहितका पदाधिकारीले सभापति शेरबहादुर देउवासहितका नेतासँग सम्वाद गरिरहेका छन् । शनिबार बसेको केन्द्रीय समिति बैठकले औपचारिक रूपमै निवर्तमान केन्द्रीय कार्यसमिति र अन्य नेताहरूलाई पार्टीको काममा फर्किन आग्रह गरेको छ भने देउवालाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेको छ ।

अबको समय एकता, सद्भाव र सहकार्यको भएकाले सबै तहका समिति र भ्रातृ तथा शुभेच्छुक संस्थालाई एक हुन पनि केन्द्रीय समितिले आह्वान गरेको छ । तर देउवा समूह तत्काललाई संवाद गर्ने मनसायमा देखिएको छैन । शनिबारै बसेको देउवा पक्षधरको बैठकले आयोगले गरेको निर्णयविरूद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षको ठहर छ- आयोगले आफूहरूको कुरा समेत सुनेन र एकपक्षीय ढंगले निर्णय गर्‍यो ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन माघ ६ गते हुँदैछ । यही परिस्थितिमा देउवा समूह भने आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियामा अघि बढ्दैछ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।