दैलेखका सामुदायिक वनमा किराको प्रकोप बढ्दा जंगल पूरै नाङ्गो

समाधानका लागि सरकारी पक्षले पहल नै थालेन
माघ ३, २०८२ |चक्र भण्डारी
दैलेखका सामुदायिक वनमा किराको प्रकोप बढ्दा जंगल पूरै नाङ्गो

दैलेख । दैलेखका सामुदायिक वनहरूमा पछिल्लो चार महिनादेखि झुसिलकिराजस्तो देखिने किराको प्रकोपले विभिन्न प्रजातिका रूखको पात खाइदिँदा जंगल पूरै नांगो देखिन थालेको छ । 

११ वटै स्थानीय तहका खासगरी खोला किनारको जंगलमा किराको प्रकोप फैलिएको छ । हिउँद लागेसँगै दैलेखका सामुदायिक वनहरूमा सालको रूखसँगै अरू घाँसपात र बिरुवाहरूको पात खाएर किराले सखाप पारेको छ । जुगौंदेखि गाउँ आसपासको जंगलका बोटबिरूवा हिउँदमा पशुचौपायालाई घाँस खुवाउन र सुकेर झरेका पातपतिंगर मल बनाउन प्रयोग गर्दे आएका किसानहरू जंगल नांगो हुँदै गएपछि चिन्तित बनेका छन् । 

आफ्नो जीवनकालमा जंगलै नांगो हुनेगरी किराले पात खाइदिएको पहिलोपटक देखेका किसानहरू पशुचौपाया कसरी पाल्ने र खेती गर्दा जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिएका हुन् । सुरूमा त जंगलमा यसरी हरिया पात मासिँदा गाउँलेहरूले स्वाभाविक कुरा होला भन्ने ठानेका थिए । तर जब बारीका ढिलकाल्लामा भएका रूखबिरूवामा समेत किराको प्रकोप फैलियो त्यसपछि भने उनीहरूलाई समस्या गम्भीर लाग्न थालेको हो । 

यसले पशुपालन र प्रांगारिक मल उत्पादनमा मात्रै नभइ सालको पातमा आश्रीत टपरी उद्योगसमेत प्रभावित बनेको छ । समस्या बढ्न थालेपछि गुनासो बोकेर गाउँलेहरू स्थानीय सरकार गुहार्न पुगेका छन् । तर जंगल बचाउन स्थानीयले केही गर्न सकेकै छैन । टाढाबाट हेर्ने हो भने अहिले जिल्लाका अधिकांश सामुदायिक र राष्ट्रिय वन डडेलो लागेर सुकेको रूख उभिएकोजस्तो देखिन्छ । 

वन क्षेत्रमा आएको यस्तो विपत्तिको समाधानका लागि सरकारी पक्षले हालसम्म कुनै अध्ययन अनुसन्धान नै गरेको छैन । पहाडी क्षेत्रका अधिकांश मानिसको दिनचर्या वनमा आश्रीत छ । पात खाइदिएर जंगल सखाप पार्ने किराको प्रकोप नियन्त्रण गर्न नसकेमा किसानले पशुचौपाया पाल्न छोड्ने मात्रै नभइ गाउँ छोडेर जानुपर्ने वाध्यता आउन सक्छ । 

समस्याको पहिचान, समाधानको उपाय र दिगो व्यवस्थापनका लागि ठोस कदम चाल्न किसानहरूले सरकार कुरेर बसेका छन् ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।