मालपोत सेवा सुरु गर्ने कागेश्वरी मनोहरा बन्यो पहिलो स्थानीय तह

माघ ३, २०८२ |रुपक कोइराला
मालपोत सेवा सुरु गर्ने कागेश्वरी मनोहरा बन्यो पहिलो स्थानीय तह

काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा सुरु गरेको छ । मालपोत सेवा सुरु गर्ने कागेश्वरी मनोहरा पहिलो स्थानीय तह बनेको हो ।

नगरपालिकाको पहलमा सुरु भएको यो सेवा निकट भविष्यमै काठमाडौँ, झापा, पोखरा, मोरङ तथा पश्चिम क्षेत्रका गरी देशका अन्य १० वटा स्थानीय तहमा लागू गर्ने तयारी भइरहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रो. डा. कुमार इङ्नामले कागेश्वरी मनोहराबाट सुरु गरिएको यो अभ्यास स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँले यस सेवाबाट सेवाग्राहीलाई सहजता हुने, समय र खर्चको बचत हुनुका साथै मालपोत सेवामा देखिँदै आएको विचौलियाको भूमिकामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले लामो प्रयासपछि आफ्नै नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी मालपोत सेवा सुरु हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने, सेवा अझ सहज, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गर्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।


Image

रुपक कोइराला

कोइराला कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।