आयोगको निर्णयविरूद्ध देउवा पक्षीय नेताहरू आइतबार सर्वोच्च जाने

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आयोगको निर्णयविरूद्ध देउवा पक्षीय नेताहरू आइतबार सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरूद्धमा आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू सर्वोच्च जाने भएको हो । शनिबार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णयविरूद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । 

उहाँले आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताउनु भयो । उहाँले आयोगले आफूहरूको कुरा समेत नसुनीकन एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाउनु भयो । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ । 

कांग्रेसलाई क्षति पुर्‍याउनेगरी आयोगले निर्णय आफूहरूलाई अमान्य भएको उहाँले बताउनु भयो । उहाँले कांग्रेसको विधान र निर्वाचनसम्बन्धी कानुनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दुषित मनसायबाट निर्णय गरेको उल्लेख गर्नुभयो । यसको विरूद्ध अदालत जाने र अदातलले आफूहरूलाई न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसको वैधानिकता १४औँ महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरूसँगै रहेको पनि दाबी गर्नुभयो । आयोगको निर्णयलाई अदालतले सच्याउने उहाँको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.