
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि देशैभर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन कार्यको लागि झापाको भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । चितवनमा जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभएको छ ।
मकवानपुरमा पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । भोजपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चौतारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
धनकुटा नगरपालिका-५ मा रहेको सामुदायिक भवनमा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ। पाँचथरमा जिल्ला हुलाक कार्यालयको भवनबाट सञ्चालन हुने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
दुई क्षेत्र रहेको भक्तपुरमा शुक्रबार औपचारिक रुपमा भक्तपुर जिल्ला अदालतका न्यायधिस नवराज दाहाले मुख्य निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गरेका हुन् । बागलुङ सदरमुकाममा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
निर्वाचन आयोगका अनुसार माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको कार्यतालिका छ । माघ ६ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ भने सोही दिन बेलुकी ५ देखि ७ बजेभित्र उम्मेदवारहरूको सूची प्रकाशन गर्ने तालिका छ ।
७ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारहरूउपर दाबी विरोध गर्ने समय दिइएको छ भने ८ गते अपराह्न ५ देखि ७ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी नामावली प्रकासन गर्ने तालिका छ । ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्ममा उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।