कांग्रेसको आधिकारिकता विवादबारे निर्णय गर्न निर्वाचन आयोग छलफलमा

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको आधिकारिकता विवादबारे निर्णय गर्न निर्वाचन आयोग छलफलमा

काठमाडौं । आन्तरिक कलहले विभाजित भएको नेपाली कांग्रेसको वैधानिकता विवाद बढ्दै जाँदा निर्वाचन आयोग आन्तरिक छलफलमा जुटेको छ । 

कांग्रेस आधिकारिकताको विवादमाथि आयोगका कार्यबाहक प्रमुख रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुन शमशेर जबरा, जानकी तुलाधरले छलफल गरिरहनुभएको छ । आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले निर्वाचन आयोगलाई दबाब मात्रै दिएका छैनन्, शक्ति प्रदर्शनसहित नाराबाजी र धर्नामा उत्रिएका छन् । 

उनीहरू एक अर्काविरूद्ध आक्रामक समेत भएका छन् । कांग्रेस संस्थापन पक्षको बाहुल्यता रहेको केन्द्रीय समितिले निर्वाचन आयोगमा पुगेर वैधता नपाए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टी विभाजित नभएको भन्दै विशेष महाधिवेशनले नयाँ नेतृत्व चुनेकोले अध्यावधिक मात्रै गर्नुपर्ने दाबी गरेको छ ।

चारतारे झन्डा र रूख चिन्हसहित आधिकारिकता दाबी गर्दै दुबै पक्ष शक्ति प्रदर्शनमा उत्रेपछि सम्भावित झडप रोक्न निर्वाचन आयोग परिसरमा सुरक्षा बढाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.