
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ ।
बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । दलिय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उहाँको दाबी छ । उहाँले वर्तमान संविधानलाई यथावत् कायम गर्नको लागि पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताउनु भयो ।
उहाँले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकोले निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताउनु भयो । उहाँले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको बताउनु भयो ।
हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई निरन्तरता दिने बताउनु भयो । उहाँले वर्तमान सरकारले सबैलाई समान व्यवहार गर्ने पनि जानकारी दिनुभयो । उहाँले आफूले जोखिम लिएर भए पनि प्रहरीको मनोबल बढाउन काम गरेको बताउनु भयो ।
गृहमन्त्रालयमा केही व्यक्तिहरूले हस्तक्षेप गर्न नपाएर आफ्नो आलोचना समेत गरिएको उहाँको भनाइ छ । उहाँले आफूले आलोचना सहेर नै मन्त्रालय र सुरक्षा निकायमा अनुचित हस्तक्षेप हुन नदिएको दाबी गर्नुभयो । उहाँले हाल जेन-जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गर्नुभयो । उहाँले प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गर्नुभयो ।