
सल्यान । गाउँमा रोजगारी अवसरहरू नभएपछि पश्चिम पहाडका नागरिक रोजीरोटीका लागि कालापहाड जान बाध्य छन्। तर परिवार पाल्ने आशामा परदेशिएका ती नागरिकहरू कहिल्यै नफर्किने गरी अस्ताइरहेका छन् ।
भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर बिस्फोट हुँदा मङ्गलबार बिहानै सल्यानका एकै टोलका नौ जनाले ज्यान गुमाए । कालापहाडले फेरि एकपटक सल्यानको एउटा गाउँ उजाड बनाइदिएको छ । दुई वर्षअघि सिद्ध कुमाख गाउँपालिका-२ टाकुराका ४६ वर्षीय काशीराम विक परिवार पाल्ने आशामा श्रीमती र छोराछोरीसहित भारत पस्नुभयो ।
हिमाचल प्रदेशको सोलानस्थित अर्कीमा मजदुरी गर्दै दुःख-सुखमा परिवार धान्दै आउनुभएका काशीराम कहिल्यै नफर्किने गरी अस्ताउनु भयो । उहाँ बसोबास गरेको कोठा नजिकै भएको ग्यास सिलिन्डर बिस्फोटमा काशीरामसँगै ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीया छोरा किरण विकको पनि ज्यान गयो ।
त्यसैगरी, टाकुराकै ३३ वर्षीय धनबहादुर विक पनि घरमा खानलाउन अभाव भएपछि दुई वर्षअघि परिवारसहित भारत पस्नुभयो । उहाँसँगै ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विकले पनि सोही घटनामा ज्यान गुमाए । रोजगारीको आशामा भारत पसेका दुई परिवार एकैपटक कहिल्यै नफर्किने गरी अस्ताएपछि यतिबेला परिवार मात्र होइन, सिंगो सिद्ध कुमाख गाउँपालिका नै शोकमा डुबेको छ ।
परिवारका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो । हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी छ । शवहरू तितरवितर अवस्थामा रहेकाले सबैको पहिचान र उद्धार गर्न कठिन भइरहेको बताइएको छ । यो घटना प्रतिनिधि मात्र हो ।
सल्यानका ग्रामीण भेगका विपन्न वर्गका अधिकांश नागरिक रोजगारीका लागि कालापहाड जान बाध्य छन्। जोखिम मोलेर मजदुरी गर्दा उनीहरूले ज्यानसमेत गुमाउनुपरेका धेरै उदाहरण छन् । गत भदौमा पनि मजदुरीका लागि भारत गएका सल्यानका सात जना नागरिक बाढीमा परेर ज्यान गुमाएका थिए ।
यहाँका नागरिक वर्षमा दुई पटक कमाइका लागि भारत जाने गरेका छन्। असार अन्त्यतिर जानेहरू प्रायः स्याउ टिप्ने काममा पुग्छन् भने हिउँद सकिएपछि जानेहरू गोडमेल, होटल, ज्याला मजदुरीलगायत विभिन्न काममा लाग्ने गरेका छन्। सरकारले हरेक वर्ष विभिन्न रोजगारीका कार्यक्रम ल्याए पनि प्रभावकारी नहुँदा कमाउन सक्ने युवा वैदेशिक रोजगारीमा र विपन्न नागरिक परिवारसहित कालापहाड जान बाध्य छन्।
स्थानीय तहले पनि रोजगारीका कार्यक्रम ल्याए पनि बजेट अभावका कारण पर्याप्त हुन नसकेको बताउँछन । गरिबी र बेरोजगारीका कारण वर्षभरिको खानाको जोहो गर्न, उपचार र पढाइ खर्च जुटाउन भारत जाने चलन सल्यानमा वर्षौंदेखि रहिआएको छ ।
पहाडमा पर्याप्त उब्जनी नहुनु, वर्षभरि खान नपुग्नु र रोजगारीको अभावले नागरिकलाई दुई छाकको जोहो गर्न परदेशिन बाध्य बनाएको छ । तर भारत पुगेका मजदुरहरू बर्सेनि विभिन्न दुर्घटनामा परी ज्यान गुमाइरहेका छन्। रोजगारीमा जोड्न, नेपालमै बस्ने वातावरण बनाउन र यस्ता दर्दनाक घटनाको पुनरावृत्ति रोक्न राज्यले अब गम्भीर ध्यान दिनु आवश्यक देखिएको छ ।