
सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडाका गाउँहरूमा सञ्चालित होमस्टे ग्रामीण पर्यटनको मुख्य आधार बनेको छ ।
ग्रामीण परिवेश, स्थानीय अर्गानिक खाना र लोक संस्कृतिको संगमले पर्यटकहरूलाई लोभ्यइरहेको मात्र छैन, कला, संस्कार, संस्कृति र रहनसहनसँगै होमस्टेको व्यापार पनि बढ्दै गएको छ। सिन्धुपाल्चोकको गुफाँडाडामा पर्यटक पुग्ने बित्तिकै तामाङ संस्कृति अनुसार स्वागत गर्ने परम्परा छ ।
पछिल्लो समय गुफाँडाडा, ओख्रेनी गुम्बा, गोब्रेलगायत गाउँमा पर्यटकको चहल पहल बढेको छ । प्राकृतिक हावापानीमा मौलिक खाना खान पाइने भएपछि यहाँ घुम्न आउनेको संख्या बढेको हो । खान र बस्नका लागि यहाँ पुग्ने अधिकांश पर्यटकको रोजाइ होमस्टे बन्ने गरेको छ ।
पदमार्ग तथा पूर्वाधार विकास भएसँगै सूर्योदय, हिमश्रृंखला, पहाडी भू-भाग र ग्रामिण बस्तीको मनोरम दृष्य अवलोकन गर्न पाइने भएकाले गुफाडाँडालाई पर्यटकलाई रुचाउँछन् । त्यसमा पनि घरबाससहितको होमस्टे सुविधा थपेपछि पर्यटक झन् आकार्षित हुन थालेका हुन् ।
उच्च हिमाली भेगमा उत्पादन हुने अर्गानिक सागसब्जी, मुला, आलु, किवि, मकै, कोदो तथा सिस्नुका परिकार पाहुनाको रोजाइमा पर्ने गरेका छन् । पहिले गाउँका उत्पादन बोकेर मेलम्चीसम्म बिक्री गर्न जानुपर्थ्याे । अहिले भने गाउँमै आउने पर्यटकले उपभोग गर्नेभएपछि स्थानीय उत्पादनलाई पनि सहज भएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नै स्रोतबाट दुई करोड रूपैयाँ बजेट छुट्याएर धार्मिक तथा सांस्कृतिक पार्क निर्माणको महत्वपूर्ण परियोजना अघि बढाएको छ । नगरपालिकाको पहलमा पार्कभित्र बुद्धमूर्ति, छ्योर्तेन तथा डम्फु पार्क निर्माणको काम भइरहेको छ ।
पर्यटन प्रवर्द्धनसँगै स्थानीय आम्दानी बढाउने लक्ष्यसहित नगरपालिकाले स्थानीय बासिन्दालाई होमस्टे सञ्चालनसम्बन्धी तालिम र आवश्यक सहयोग पनि उपलब्ध गराएपछि अहिले एक दर्जनबढी होमस्टे सञ्चालनमा छन् । स्थानीय उत्पादनको खपतसँगै स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्धनमा समेत सघाउ पुगिरहेको छ भने पर्यटकहरू समेत व्यवस्थित घरबास सहितको होमस्टेको बसाइले निकै खुसी दिएको छ ।