
काठमाडौं । जेन-जी आन्दोलनपछि दलहरूमा पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको बहस पेचिलो रूपमा उठ्यो ।
विघटित प्रतिनिधि सभाका तीन ठूला दलमध्ये नेकपा (एमाले)ले समयावधि भन्दा एक वर्षअघि नै महाधिवेशन गरेर आफू रूपान्तरण भएको सन्देश दिन खोज्यो तर नेतृत्व परिवर्तन भने भएन । तत्कालLन नेकपा (माओवादी)ले संगठन भंग गरेर आफू र"पान्तरण भएको दाबी मात्रै गरेन करिब २० दल र समूहसँग एकता गरेर चुनावमा होमिने बाटो समात्यो ।
हाल एकीकृत पार्टीले संयोजक, सह-संयोजक तोकेर करिब २५ सय केन्द्रीय कमिटी बनाएको छ । अर्को दल कांग्रेसले भने न समयमै नियमित महाधिवेशन गर्न सक्यो न विशेष महाधिवेशन सहमतिको महाधिवेशन बन्न सक्यो । कांग्रेसमा कसरी सुरू भयो विशेष महाधिवेशनको उठान र कसरी हुँदैछ बैठान ?
सहकर्मी विकास आचार्यले जेन-जी आन्दोलन पछिको घटनाक्रम खोज्नुभएको छ ।
नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माको अग्रसर्तामा काठमाडौंमा विशेष महाधिवेशन जारी छ । महाधिवेशनको आयोजक काठमाडौं जिल्ला समितिले गरेको भए पनि यसको पहलकर्ता गगन-विश्वलगायतका नेता हुन् । यता कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन समूह विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेर जान नहुने भन्दै विशेष महाधिवेशन मागकर्तासँग वार्ता गरिरहेको छ ।
पुसको २६ गतेसम्म पनि विशेष महाधिवेशन मागकर्तालाई शक्ति नै नमानेको संस्थापन पक्षले बहुमत प्रतिनिधि विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा देखेपछि झस्किएको छ । त्यसका लागि कार्यविधि नै पारित गरेर नेतृत्व चयनको दिशामा विशेष महाधिवेशन अघि बढेपछि पार्टी एकजुट नरहने संशयले संस्थापन दबाबमा परेको छ।
त्यसो त संस्थापन पक्ष बाहिरी आवरणमा खड्काले नेतृत्व गरे पनि तालाचाबी भने सभापति शेरबहादुर देउवासँगै छ । अर्को पक्ष मझधार छ- जुन समूहको नेतृत्व शेखर कोइरालाले गरिरहनु भएको छ । पुस २६ गतेसम्म पनि वैशाखमै नियमित महाधिवेशन गर्नुपर्ने अडान राखिरहनु भएका उहाँ २७ गतेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएपछि मध्यमार्गीका रूपमा प्रस्तुत हुनु भएको छ ।
कसरी र कहिलेबाट उठान भयो विशेष महाधिवेशनको माग ?
जेन-जी आन्दोलनपछि यथास्थितिमा पार्टी नचल्ने निचोड अधिकांश दलका दोस्रो तहका नेताहरूले निकालेका थिए । कांग्रेसमा १५औं महाधिवेशनको चर्चा सुरू भएको एक वर्षअघि देखि नै हो। तर भदौ २४ मा सभापति देउवा र पत्नी आरजु देउवा कुटपिटमा परेर घाइते भएपछि १५औं महाधिवेशनको बहस बाक्लियो ।
फागुन २१ मा तोकिएको निर्वाचन अगावै महाधिवेशन गर्ने र चुनावमा होमिने र सोहिअनुसार निर्णय गराउने उद्देश्यसहित २८ असोजका लागि केन्द्रीय समिति बैठक बोलाइयो । देउवाले २८ गते नै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको पद थमाउनु भयो ।
२९ गते विशेष महाधिवेशन पक्षधरले ५४.५८ प्रतिशत हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा दर्ता गराए । जबकि असोजको पहिलो साताबाटै कांग्रेसले हस्ताक्षर संकलन थालेको थियो । मंसिर १५ गतेसम्म करिब डेढ महिना बसेको बैठकले कुनै ठोस निर्णय गरेन ।
संस्थापन र इतर पक्षको दुईवटा कार्यतालिका सार्वजनिक भए । यो बीचमा देउवा पार्टीको बैठकमा उपस्थित नभए पनि सक्रिय राजनीतिक पुनरागमन गरिसक्नु भएको थियो । मध्यमार्गी प्रस्तावको रूपमा देउवाकै सक्रियतामा खड्काले पुस २६ देखि २८ सम्मको तालिका सार्वजनिक गरेपछि लगभग सहमति जुटेको थियो । तर, त्यसबिचमा महाधिवेशनका लागि तयारी हुन सकेन।
दुबै पक्षले एकअर्कोलाई दोषारोपण गरे। पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन बैठकले नियमित महाधिवेशन पुसमा नभएर बैशाख २८ देखि ३१ गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन गर्ने भन्दै अघि बढे । त्यसपछि पटक पटक बसेका कार्यसम्पादन समितिका बैठकले सहमति जुटाउन सकेन, बरू वक्तव्य बाजी भए । अन्तत: पुस २८ गते भृकुटीमण्डपमा बहुमत महाधिवेशन प्रतिनिधिले गगन विश्वप्रकाशलाई समर्थन गर्दै भेला भए ।