
काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं महानगरपालिकाका प्रमुखमा निर्वाचित बालेन्द्र शाहको अहिले चर्चा छ ।
त्यसो त महानगर प्रमुख भएदेखि नै उहाँको निरन्तर चर्चा भइरहेको छ । बालेन्द्रले घोषणापत्रमार्फत आइडिया बैंकको परिकल्पना गर्नु भएको थियो । उहाँले भष्ट्राचार हुन नदिने र अनलाइन भुक्तानीलगायतका बाचाहरू पनि महानगरबासीसँग गर्नुभएको थियो । २०७९ जेठ १६ गते पदभार ग्रहण गर्नुभएका बालेन्द्रले निर्वाचनको क्रममा गरेका २८ बुँदे बाचामध्ये कति पुरा भए त ?
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदभार ग्रहण गरेको साढे ३ वर्ष साढे सात महिना नाघेको छ। प्रमुख पदमा उम्मेदवारी दिँदा घोषणापत्रमार्फत शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतका काठमाडौंको मुहार परिर्वतन गरी जनताको पक्षमा काम गर्ने प्रतिबद्धता गर्नुभएका उहाँले सामुदायिक विद्यालयलाई प्राथमिकता दिए अनुसार शिक्षामा सुधार आएको छ भने सिकाइ उपलब्धी पनि बढेको छ ।
घोषणापत्र अनुसार नै महानगरले सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार बुक फ्री फ्राइडे कार्यक्रम सुरू गरेको छ । सीप, उद्यमशीलता, कला, संगीत, नेतृत्व विकास जस्ता कार्यक्रमले विद्यार्थीमा उत्साह भरेको छ । निजी विद्यालयले दिने छात्रवृत्तिलाई कडाइका साथ कार्यकान्वयन गर्न महानगर प्रमुख बालेन्द्र सफल हुनुभएको छ ।
स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार निजी अस्पतालमा १० प्रतिशत गरिब तथा विपन्नलाई सेवा सुनिश्चित गर्न उहाँ सफल हुनुभएको छ । त्यस्तै महानगरभित्र सुविधायुक्त एम्बुलेन्स सञ्चालनमा ल्याइएका छन्। हरेक वडामा व्यायाम गर्ने पार्कहरू निर्माण भएका छन्।
स्ट्रक्चरल इन्जिनियर समेत रहेका प्रमुख बालेन्द्रले साढे ३ वर्षको दौरानमा भौतिक पुर्वाधार एम्बुलेन्सद्वारा सडक, ढलजस्ता पुर्वाधारहरूको मर्मत गर्नेदेखि प्राचीन पुरातात्विक सम्पदाहरू निर्माण तथा पुनर्निमाणसम्मका काममा प्रगति हासिल गर्नुभयो । काठमाडौंका हरेक बस स्टपहहरूमा पुरानो शैलीका आधुनिक फल्चाहरू निर्माण भएका छन् । जमिन पुन:भरणका लागि पोखरीहरू निर्माणदेखि धेरै प्राचीन ढुङ्गेधाराहरू पुन: सञ्चालन भएका छन् ।
आर्थिक अनियमितता र भष्ट्राचार हुन नदिने प्रतिबद्धता अनुसार बालेन्द्रले भष्टाचारविरूद्धको विशेष फोर्स गठन गर्नुभयो भने सुशासनको लागि महानगरको बोर्ड बैठकको प्रत्यक्ष प्रसारण गरेर धेरैलाई आश्चर्यचकित पार्नुभयो । सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने उद्देश्यले महानगरले दुरुपयोग गरी बनाइएका धेरै ठाउँमा अतिक्रमित संरचना भत्काउने अभियान नै चलाउनुभयो । खुला ठाउँ र हरियालीका लागि नक्सांकन गरी पार्क, खेलकुद मैदान, व्यायाम स्थलहरू बनेका छन् ।
पर्यटनलाई स्थानीय बासिन्दाको जीवनचर्यासँग जोडनेगरी यहाँका परम्परागत जात्रा पर्वलाई विश्वसामु चिनाउने प्रयत्न भएका छन् । करिडोरमा गरिएका वृक्षारोपणले हराभरा बनेका छन् । आइडिया बैंकमार्फत युवाहरूलाई सीप र उद्यमशीलताका तालिम दिइ उद्योगी र लगानीकतासँग सहकार्य गर्दै हजारौंलाई रोजगारीको अवसर सुनिश्चित गरिएको छ ।
महानगरको गौरव योजना अन्तगत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत निःशुल्क सीप मेला सञ्चालन गरेर युवाहरुका लागि रोजगारीका अवसर सिर्जना भएका छन्। प्रमुख पदमा उम्मेदवारी दिँदा घोषणापत्रमै लेखिएका कतिपय विषयमा भने बालेन्द्र शाह असफल भएका छन्।
उच्चस्तरीय प्रविधि प्रयोग गरी काठमाडौंको फोहर व्यवस्थापन गर्ने बालेन्द्रको घोषणा पूरा भएन। बरू काठमाडौंको फोहर बिसर्जन हुने गरिएको सिसडोल क्षेत्रमा पटकपटक विवाद चले। टुकुचा खोला उत्खनन गरेको महानगरपालिकाले खोलाको व्यवस्थापन अझै भएको छैन । अव्यवस्थित बसोबास रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा बालेन्द्र र महानगरपालिका आलोचित भए।
काठमाडौंको स्थानीय यातायातामा जीपीएस जडान गर्ने, महानगरको आफ्नै ट्याक्सी एप सञ्चालन गर्ने, महानगरमा शतप्रतिशत विद्युतीय सार्वजनिक यातायात थालनी गर्ने, सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्ड सुरू गर्ने जस्ता कतिपय घोषणामा कुनै प्रगति भएन। उपत्यका प्रवेश गर्ने सवारी धुने केन्द्रहरू चलाउने कुरा निकै प्रचारित भए पनि त्यसमा पनि काम भने भएन।