
काठमाडौं । सरकारले आगामी माघ २ गते देशभर २८औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ ।
‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने मूल नाराका साथ यस दिवस देशव्यापी रूपमा मनाइने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ई. रविन्द्र बोहराले काठमाडौं महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार दिवसका दिन बसन्तपुरबाट सुरू हुने भूकम्प सुरक्षा र्याली आकाशभैरव, इन्द्रचोक र असन हुँदै खुलामञ्च पुग्नेछ ।
र्यालीपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम आयोजना हुनेछ । सोही स्थानमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी पनि सञ्चालन गरिनेछ । प्रदर्शनीमा विपद् जोखिम न्यूनीकरण क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूको सहभागिता रहने बताइएको छ ।
भूकम्प सुरक्षा दिवसकाअवसरमा देशभर प्रदेश, जिल्ला र स्थानीय तहमा गोष्ठी, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम, र्याली, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक तथा अडियो भिडियो सामग्रीमार्फत व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सबै सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन जारी भइसकेको विभागले जनाएको छ ।
महानिर्देशक बोहराले भूकम्पका बेला जनधनको ठूलो क्षति कमजोर घर तथा संरचना भत्किँदा हुने भएकाले सुरक्षित भवन निर्माण नै सबैभन्दा प्रभावकारी पूर्वतयारी भएको बताउनुभयो । “यसका लागि राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ । नयाँ निर्माण तथा पुराना घरको प्रबलीकरण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनिवार्य लागू गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
विभागका अनुसार भवन संहिता कार्यान्वयन, प्राविधिक तालिम, अनुगमन तथा अनुसन्धानलाई तीव्र बनाइएको छ । काठमाडौं उपत्यकाका सात स्थानीय तहमा ‘बिल्डिङ स्ट्रक्चर वर्कफ्लो’ पाइलट परीक्षण सफल भएपछि देशभर नक्सा पास प्रणालीलाई एकीकृत रूपमा लागू गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प तथा अन्य विपद्बाट प्रभावित परिवारलाई सुरक्षित आवासका लागि अनुदान र प्राविधिक सहयोग प्रदान गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । साथै, आपतकालीन सामग्री भण्डारण, खोज तथा उद्धार तयारी, पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी कार्यहरू पनि निरन्तर अघि बढाइँदै आएको विभागले जनाएको छ ।
सरकारले भूकम्प जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउँदै सुरक्षित निर्माण, पूर्वतयारी, प्रतिकार्य र पुनर्स्थापनालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित भूकम्प सुरक्षा दिवस मनाउन लागिएको जनाएको छ ।